काठमाडौं, नेपाल शिक्षक महासङ्घ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनका कारण काठमाण्डौ उपत्यकामा सहज ढङ्गले गाडी सञ्चालन नहुँदा सर्वसाधारणलाई सास्ती भएको छ।
माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शनका कारण ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई कठिन भएको छ । प्रहरीले आवश्यकतानुसार ‘रुट’ परिवर्तन गरी गाडीलाई वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरीले जानकारी दिनुभयो । कार्यालय समयमा गाडी लामो समयसम्म जाममा पर्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको थियो।
राप्रपाले निषेधित क्षेत्र बिजुलीबजार पुल आसपासमा भेला हुने जनाएपछि माइतीघर, बबरमहल र नयाँबानेश्वर क्षेत्रमा गाडी आवगमनमा रोक लगाइएको छ । त्यस क्षेत्रमा तारबार गरेर अवाञ्छित गतिविधि रोक्ने प्रयत्न भएको छ भने धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ।
विगत १९ दिनदेखि देशभरका शिक्षकहरू आन्दोलनमा छन् । उनीहरूको आन्दोलनसँगै आज राप्रपाले पनि प्रदर्शन गरेपछि सवारी व्यवस्थापन जटिल बनेको हो।
यसैबीच गृह मन्त्रालयले राप्रपाका नामबाट निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै कानून उल्लङ्घन गर्न प्रोत्साहन गर्ने, समाजमा अराजकता फैलाउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ।