पक्राउ परेका नेताहरूलाई आजै साँझसम्म रिहा नगरिए देशैभरि राँके जुलुस निकाल्ने..

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरू तितरवितर भएका छन् । सिंहदरबारबाट पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौं लगिएको छ।

सिंहदबारमा केहीबेर अघि अध्यक्ष लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र सांसद ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरूलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको एसपी अपिल राज बोहराले जानकारी दिए ।

नयाँ बानेश्वर–माइतीघर सडकखण्डमा भएको प्रदर्शन केहीबेर अघिबाट तितरवितर भएको छ । प्रदर्शनकारीहरूलाई तितरवितर बनाएर अहिले बबरमहल क्षेत्रको सडकका साइड लेनमा सवारी चल्न सुरु भएको छ ।

राप्रपाले आइतबार अपराह्न साढे ४ बजे कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएको छ । प्रवक्ता मोहन श्रेष्ठका अनुसार पक्राउ परेका नेताहरूलाई आजै साँझसम्म रिहा नगरिए देशैभरि राँके जुलुस निकाल्ने चेतावनी दिएका छन् ।

संयुक्त जनआन्दोलन परिचालन समितिले यस घटनाको भर्त्सना गरेको छ, जसमा शान्तिपूर्ण प्रदर्शनकारीहरूमाथि भएको कारबाहीको विरोध गरिएको छ।





Comments

comments

130674