Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

चितवन निकुञ्ज क्षेत्रमा साहसिकतामा रमाउँदै ‘नेचर गाइड’ महिला

पोखरा । “अब त यस्तो लाग्न थालिसक्यो, एक दिन जङ्गल नपस्दा र जङ्गली जनावर नदेख्दा केही कुरा बिर्सिएजस्तो, केही कुरा छुटेजस्तो अनि जनावरले आफूलाई पर्खेजस्तो ।” तीन वर्षदेखि चितवन राष्ट्रिय निकुञ्जमा ‘नेचर गाइड’का रूपमा कार्यरत एलिना चौधरीका लागि जङ्गल केवल कार्यक्षेत्र मात्र होइन, आत्मशान्ति र सन्तुष्टिको स्रोतसमेत बनेको छ । उनको दिनचर्या अब स्वदेशी–विदेशी पर्यटकलाई प्रकृति र वन्यजन्तुको अवलोकन गराउँदै बित्छ।

“असहजता, चुनौती, कठिनाइ यी सबैसँग जुध्दै पर्यटकलाई हाम्रो प्रकृति र वन्यजन्तुको जानकारी दिनु अनि तिनीहरूको अनुहारमा खुसी देख्नुजस्तो आनन्द अरू केमा मिल्ला र ?” एलिनाले भनिन्, “प्रकृतिसँग बिताएको प्रत्येक क्षण अमूल्य हुन्छ, त्यसलाई महसुस गर्न जान्नु नै आनन्द रहेछ ।”

बाल्यकाल जङ्गल छेउमै बितेकाले एलिनाका लागि जङ्गली जनावरसँगको जम्काभेट सामान्य थियो । बिहान चराचुरुङ्गीको गुञ्जन, शीतल हावाको स्पर्श, हरियालीको आनन्द यिनै कुराले उनलाई प्रकृतिप्रति झन् नजिक बनायो । यही लगावले व्यावसायिक रूपमा नेचर गाइड बन्न प्रेरित गर्‍यो ।

नेचर गाइडको औपचारिक तालिमपछि उनले चितवनको मेघौलीस्थित बाराही जङ्गल लजबाट आफ्नो यात्रा सुरु गरेकी हुन् । अचेल उनको दैनिकी पर्यटकको तालिकाअनुसार कहिले बोट सफारी गाइड, कहिले जिप सफारी गाइड त कहिले ‘जङ्गल वाक’मा गाइडका रुपमा हुनेगर्छ ।

अलि बढी चुनौतीचाहिँ जङ्गल वाकमा हुन्छ । एलिनाले भनिन्, “कतिबेला कुन जङ्गली जनावरसँग जम्काभेट हुने हो, थाहा हुँदैन, डर हुन्छ, तर त्यही डरभित्रको रोमाञ्चकता नै जङ्गल सफारीको सौन्दर्य हो,” उनले प्रकृतिका विविधताको ज्ञानसँगै जङ्गली जनावरसँग जोगिने विशेष कला नेचर गाइडमा हुनुपर्ने बताइन् ।
सन् २०१९ मा नेचर गाइडको प्रमाणपत्र प्राप्त गरेकी एलिनाले आत्मविश्वास, साहस, निडरता र ज्ञानलाई आफ्नो सबल पक्ष बनाउँदै आएकी छन् । वन्यजन्तु संरक्षण, दिगो पर्यटन र महिलाको सशक्तिकरणमा योगदान पुर्‍याएबापत एलिना अन्तरराष्ट्रिय ‘टफ–टाइगर्स लज न्याचुरलिस्ट अफ दी इयर २०२४’ अवार्ड समेत जित्न सफल भएकी थिइन् । यो उपाधि जित्ने उनी पहिलो नेपाली महिला पनि हुन् ।

एलिनासँग पर्यटकहरूसँग बिताएका कैयौँ सम्झनाहरू छन् । तीमध्ये एक घटना उनको स्मरणमा ताजै छ । “एक महिनाअघि एक नेपाली पर्यटक जङ्गल सफारी गर्न आएका थिए। यसअघि १२–१५ पटक जङ्गल सफारीमा उनले कहिल्यै बाघ देख्ने अवसर मिलेनछ । त्यो दिन संयोगवश, मैले गाइड गरिरहेको बेला उनले बाघ देखे । उनी खुसीसँग एकदम भावुक भएर रुन पो थाले ।” एलिनाले भनिन्, “खै किन हो कुन्नि, मैले सोध्न पनि सकिनँ । सायद, बाघ देख्ने उहाँको वर्षौंको सपना पूरा भएर पो हो कि ।” थुप्रै अनुभवसँग एलिनाको दिनचर्या जङ्गल र नदी किनारमा प्रकृतिसँग साक्षात्कार गर्दै बितेको छ ।

त्यसो त चितवन राष्ट्रिय निकुञ्ज छेउमा घर भएकी २३ वर्षीया सुदीक्षा कुमालको दैनिकी पनि उस्तै छ । स्नातक तेस्रो वर्षमा अध्ययनरत हुन् कुमाल । बाल्यकालदेखि नै प्रकृति र वन्यजन्तुप्रति रुचि राख्ने उनी आफ्नै दिदीबाट प्रेरणा लिएर नेचर गाइड बन्ने निर्णय गरेको सुनाउँछिन् ।

दुई वर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय उनले नेपाली तथा विदेशी पर्यटकलाई चितवन राष्ट्रिय निकुञ्जको जैविक विविधता, वन्यजन्तु संरक्षण र वातावरणीय सन्तुलनका बारेमा जानकारी दिँदै आएकी छन् ।

“सुरुमा कतिपयले महिलाले यो पेसा गर्न सक्छ भन्ने नै विश्वास गर्दैनथे । चितवन राष्ट्रिय निकुञ्जमा गैँडासहित बाघ, भालुजस्ता वन्यजन्तु पाइन्छन् । पर्यटकलाई जङ्गल सफारीमा लैजानु जोखिमपूर्ण पनि हुन सक्छ,” सुदीक्षाले बताइन् । मौसमको प्रतिकूलता, गर्मी वा वर्षामा बाटो हिलाम्य हुनु, कीराहरूको प्रकोपलगायत प्राकृतिक चुनौती पनि उस्तै हुन्छन् ।

वातावरण विज्ञान अध्ययन गरेकी पूर्वचितवनकी सकिना महतो आफू पढाइ अनुसारको पेसामा रमाइरहेको बताउँछिन् । उनले कठिनाइ भए पनि आत्मसन्तुष्टि मिलेको र नौ महिनादेखि यही पेसामा तल्लीन रहेको बताइन् ।

चितवन योगी टोलकी बिबिएस अध्ययनरत २० वर्षीय प्रभा कुमाल एक वर्षदेखि यो क्षेत्रमा क्रियाशील छिन्। बाल्यकालदेखि नै वन्यजन्तुप्रति रुचिले उनलाई वन्यजन्तुमा आकर्षित गर्‍यो । सानैबाट जङ्गल वरिपरि नै जन्मे–हुर्केका कारण वन्यजन्तुसँगको आत्मीयले नै यस क्षेत्रप्रति आकर्षित गरेको बताइन् ।

पुरुषहरूको वर्चस्व रहेको क्षेत्रमा वन्यजन्तु संरक्षण, साहसिक पर्यटन र महिला सशक्तिकरणको नमूनाका रुपमा महिला नेचर गाइडलाई लिन सकिने बाराहीजङ्गल लजका सञ्चालक बिप्लव पौडेल बताउँछन् ।

नेचर गाइड महिलाहरुको उपस्थितिले स्थानीय समुदायमा महिला सशक्तीकरणको सन्देश प्रवाह गर्न सहयोगी बनेको पौडेलको भनाइ छ ।

फोटो, भिडियोमार्फत पर्यटन प्रवद्र्धनमा सक्रिय फोटो पत्रकार सङ्घ कास्कीका अध्यक्ष राम गुरुङले ‘फोटो वाक एट मेघौली यात्रा’ मा नेचर गाइड महिलाले पर्यटकलाई गाइडिङ गरिरहेका दृश्य निकै गर्विलो लागेको बताए ।

वन, वन्यजन्तु र वातावरण संरक्षणका क्षेत्रमा क्रियाशील राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको जैविक विविधता संरक्षण केन्द्रले नेचर गाइड तालिम सञ्चालन गर्दै आएको छ । जैविक विविधता संरक्षण केन्द्र, सौराहाका वरिष्ठ रेन्जर ऋषि सुवेदीले पर्याप्त ज्ञान, आत्मविश्वास र लगावका साथ नेचर गाइड महिला यस क्षेत्र प्रवेश गरेको बताए । हालसम्म एक हजार ६०० देखि एक हजार ७०० जनाले तालिम लिइसकेका छन् । महिलाको सङ्ख्या १० देखि १५ प्रतिशतको हाराहारीमा छ ।





Comments

comments

130698