जम्मुकश्मिरमा एक नेपालीसहित २७ जनाको ज्यान जाने गरि भएको आतंकवादी हमलाको नेपाल सरकारबाट निन्दा..

काठमाडौं । भारतको जम्मुकश्मिरमा भएको आतंकवादी हमलाको नेपाल सरकारले कडा निन्दा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यस घटनाको कडा शब्दमा भत्सर्ना गर्दै नेपाल सधैं आतंकवाद विरुद्धको लडाईमा भारतको साथमा रहने प्रतिबद्धता जनाएका छन्।

-

मंगलबार जम्मुकश्मिरको प्रसिद्ध पर्यटकीय स्थल पहलगामको बैसारन क्षेत्रमा पर्यटकहरुमाथि लक्षित आतंकवादी आक्रमण भएको थियो । यस दुःखद घटनामा एक नेपाली नागरिकसहित विभिन्न देशका २७ जना निर्दोष नागरिकको ज्यान गएको छ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “पहलगाममा भएको कायरतापूर्ण आतंकवादी हमलाप्रति म गहिरो दुःख र आक्रोश व्यक्त गर्दछु । पीडित परिवारहरूप्रति गहिरो समवेदना । नेपाल सरकार र नेपाली जनता आतंकवाद विरुद्धको लडाईमा भारतको साथमा दृढतापूर्वक उभिएको छ।”

नेपाल सरकारले मृतक नेपाली नागरिकको पहिचान र उनको परिवारलाई आवश्यक सहयोग पुर्‍याउन भारतीय अधिकारीहरूसँग निरन्तर समन्वय गरिरहेको जानकारी दिएको छ । साथै, सरकारले सम्पूर्ण नेपाली नागरिकहरूलाई जम्मुकश्मिर क्षेत्रमा भ्रमण गर्दा विशेष सावधानी अपनाउन अपिल गरेको छ।





Comments

comments

130723