न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २७ अप्रिल। हङकङ प्रहरीले सरोगेसी र बच्चाको लिङ्ग छनौट सेवा प्रदान गरेको आरोपमा १० जनालाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार एक स्थानीय कम्पनीले दुई वेबसाइटमार्फत मानव प्रजनन प्रविधि अध्यादेश विपरीत यस्ता सेवाहरू प्रवर्द्धन गरेको उजुरी प्राप्त भएपछि अनुसन्धान थालिएको थियो।
गुप्त अनुसन्धानपछि उक्त कम्पनीले हङकङमा ग्राहक खोज्ने र विज्ञापन गर्ने गरेको पाइएको छ। सेवा सम्झौतामा हस्ताक्षर भएपछि कम्पनीले ग्राहकहरूलाई विदेशमा आईभीएफ र सरोगेसी प्रक्रियाका लागि व्यवस्था मिलाउने गरेको बताइएको छ।
शुक्रबार र शनिबार ३० देखि ७० वर्ष उमेर समूहका ४ पुरुष र ६ महिला गरी १० जनालाई पक्राउ गरिएको छ। प्रहरीले कारबाहीका क्रममा धेरै स्मार्टफोन, ल्यापटप, पर्चा, रसिद र सम्झौताहरू बरामद गरेको छ। सम्बन्धित वेबसाइटहरू पनि बन्द गरिएका छन्।
पक्राउ परेका सबै आरोपीहरूलाई जमानतमा रिहा गरिएको छ र मे महिनाको अन्त्यमा प्रहरी समक्ष उपस्थित हुन निर्देशन दिइएको छ। कानून अनुसार अनुसन्धान जस्ता विशेष परिस्थितिमा बाहेक कसैले पनि हङकङ बाहिर समेत लिङ्ग छनौट र सरोगेसी सेवाको प्रचार, वितरण र प्रदान गर्न पाउँदैन।