काठमाडौं । आईसीसी महिला टी-ट्वेन्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल र हङकङबीचको प्रतिक्षित खेल मौसमको प्रतिकूलताका कारण रद्द भएको छ। थाइल्यान्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा बिहीबार राति परेको भारी वर्षाका कारण खेल मैदान खेल्न योग्य नभएपछि टस समेत नभई खेल रद्द घोषणा गरिएको हो।
यस निर्णयसँगै समूह ‘सी’ मा रहेका दुवै टिमले १-१ अंक बाँडेका छन् । प्रतियोगितामा कुल ९ राष्ट्र सहभागी छन्, जसमा प्रत्येक टिमले आ-आफ्नो समूहका टिमसँग दुई-दुई पटक खेल्नुपर्ने छ।
यस छनोटमा प्रत्येक समूहको शीर्ष टिमले ‘सुपर थ्री’ चरणमा प्रवेश पाउनेछन् । सुपर थ्रीबाट शीर्ष दुई टिमले २०२६ को टी-ट्वेन्टी विश्वकपको ग्लोबल छनोटमा स्थान सुरक्षित गर्ने छन्। ग्लोबल छनोटमा विश्वका विभिन्न क्षेत्रीय छनोटबाट छानिएका ८ टिम र प्रत्यक्ष छनोट भएका बंगलादेश र स्कटल्यान्ड गरी १० टिम सहभागी हुनेछन्।
नेपालले अब आफ्नो अर्को खेल भोलि बहराइनसँग खेल्नेछ, त्यसपछि मंगलबार पुनः हङकङसँग प्रतिस्पर्धा गर्नेछ। यी खेलहरू नेपालको विश्वकप यात्राको लागि निर्णायक साबित हुन सक्छन्।
यसैबीच, आजै सम्पन्न अन्य खेलमा घरेलु टिम थाइल्यान्डले कुवेतमाथि ८ विकेटको प्रभावशाली जित हासिल गरेको छ। कुवेतले दिएको ५९ रनको सामान्य लक्ष्य थाइल्यान्डले सहज रूपमा पार गर्न सफल भयो।