झापा । समाजसेवी एवं व्यवसायी विनोद बस्नेतले आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेको घटनाले बिर्तामोड क्षेत्र स्तब्ध बनेको छ। बिर्तामोड-१ स्थित आफ्नै निवासको सुत्ने कोठाको पंखामा झुन्डिएर उनले जीवन समाप्त पारेका हुन्।
बहुआयामिक व्यक्तित्वका धनी बस्नेत विभिन्न सामाजिक तथा व्यवसायिक क्षेत्रमा सक्रिय थिए । झापा गोल्डकपका पूर्वअध्यक्ष रहेका उनी जेसीज पूर्वअध्यक्ष समाज झापाका अध्यक्ष, एकका लागि एक अभियानका सहसंयोजक, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यसमिति सदस्य र मेची पेट्रोलियम डिलर्स एशोसिएसनका महासचिवको रुपमा कार्यरत थिए।
व्यवसायिक क्षेत्रमा पनि सफल मानिएका बस्नेत सयपत्री ट्रेड लिंक मोटरसाइकल डिलरशिपका सञ्चालक थिए। उनको सामाजिक योगदानको कदर गर्दै वीरता जेसीजका पूर्वअध्यक्ष, रोटरी क्लब अफ बिर्तामोडका पूर्वअध्यक्ष र नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्षको जिम्मेवारी पनि सम्हालेका थिए।
मृतक बस्नेत पछि श्रीमती कोपिला बस्नेत र एक छोरी विभूति रहेका छन्। श्रीमती अधिवक्ता हुन् भने छोरी एमबीबीएस अध्ययनरत रहेको पारिवारिक स्रोतले जनाएको छ । घटनाको जानकारी पाएलगत्तै प्रहरीले घटनास्थल सिल गरी अनुसन्धान सुरु गरेको छ।