न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १३ मे। आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटको खेलमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको छ। वर्षाका कारण खेल छोट्याइएको थियो।
थाइल्यान्डको एआईटी मैदानमा नेपालले दिएको ३० रनको लक्ष्य हङकङले ४ ओभर ३ बलमै ३ विकेट गुमाएर पूरा गर्यो। हङकङकी शनजीन शाहजादले नटआउट १५ रन बनाइन्। नेपालकी कविता कुँवरले २ विकेट लिन सफल भइन्।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५ ओभरमा ३ विकेट गुमाएर २९ रन बनायो। नेपालकी सम्झना कुमारी खड्काले सर्वाधिक १० रन बनाइन्। हङकङकी मे वे सुले उत्कृष्ट बलिङ गर्दै ३ विकेट हात पारिन्।
यसअघि नेपालले बहराइनलाई ९ विकेटले हराएको थियो। नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो। अब नेपालले बिहीबार पुनः बहराइनसँग खेल्नेछ।
प्रतियोगितामा कुल ९ टिम सहभागी छन्। नेपाल समूह ‘सी’ मा हङकङ र बहराइनसँगै रहेको छ। प्रत्येक समूहको शीर्ष टिम ‘सुपर थ्री’ चरणमा पुग्नेछन्, जहाँबाट शीर्ष दुई टोलीले विश्वकप ग्लोबल छनोटमा स्थान बनाउनेछन्।