कोलोराडो पुगेर के भने – श्री १००८ महाराज कालिदास बाबाले ..?

Photo: Natibabu Bhatta/ HKNepal.com


नातिबाबु भट्ट
/ एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। श्री १००८ महाराज कृष्णानन्द कालिदास बाबाले कोलोराडोमा प्रवचन दिँदै मातृभूमि नेपालमा हिन्दु सनातन धर्म स्थापित भएको हेर्न मन भएको बताएका छन्।

कोलोराडो स्थित रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालको आयोजना तथा नेपाली घरको सहयोगमा नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा आयोजित प्रवचन कार्यक्रममा बाबाले शनिवार त्यस्तो आशय व्यक्त गरेका हुन्।

शनिबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालित प्रवचन कार्यक्रममा बाबाले अमेरिकामा आएर यसरी नेपाली समुदायबीच उपस्थित हुन पाउँदा ज्यादै खुसी लागेको भन्दै नेपाल जस्तो देवभूमि, पवित्र भूमि यो संसारमा कहीँ कतै नभएको बताए। नेपालीहरूको शान, मान र इज्जत भनेकै हाम्रो मातृभूमि नेपाल भएकोले यसको विकासको लागि सबैले आ-आफ्नो क्षेत्रबाट सक्दो योगदान गर्नुपर्ने धारणा राखे।

कार्यक्रममा बाबाको सहयोगी पत्रकार गीता मैनालीले बाबाको व्यक्तित्व र समाजमा उनले पुर्‍याएको योगदानको बारेमा प्रकाश पारेकी थिइन्। त्यसैगरी वरिष्ठ साहित्यकार ज्ञानेन्द्र गदालले कालिदास बाबाको विस्तृत रूपमा परिचय गराएका थिए।

नेपालको ओखलढुङ्गा जिल्लामा जन्मि हुर्केका र अहिले भारतमा ख्याति कमाएका श्रद्धेय श्री १००८ कालिदास बाबाजी महाराज कृष्णानन्द परमहंस नेपाली जातिको शान र गौरव हुन्। सनातन हिन्दु धर्म र देवभूमि नेपालको उन्नति र प्रगतिको लागि सधैँ चिन्तनरत सन्त योगी कालिदास बाबा मातृभूमि नेपाललाई माया गर्ने हरेक नेपालीका लागि प्रेरणाका स्रोत हुन्।

संसारभरका साधुसन्तहरुको बीच अलग्गै पहिचान बनाएका सादा जीवन र उच्च आध्यात्मिक विचारका धनी सन्त बाबा कालिदास भारतको निरञ्जनी अखडाको महामण्डलेश्वर समेत रहेका छन्। देवीको अखण्ड साधना गरेर सिद्धि प्राप्त गरेका बाबा कालिदास तन्त्रका ज्ञाताका रूपमा पनि परिचित छन्।

वर्षौंको साधनापश्चात् सिद्धि प्राप्त गरेका बाबा कालिदास बौद्धिक व्यक्तित्व पनि हुन्। भौतिक विज्ञानमा स्नातकोत्तर गरेका बाबा कालिदास भौतिकताबाट विरक्त भएपछि आध्यात्मिक मार्गतर्फ लागेका हुन्।

नेपालको छिमेकी राष्ट्र भारतमा ३६ आश्रम, १३ विद्यालय, ६ वटा अस्पताल, १९ वटा गौशाला निर्माण गरिसकेका बाबाले ५०० शैय्याको अस्पताल निर्माणको अन्तिम चरणमा पुगेको, ३ वटा मेडिकल कलेज बनाउने योजना रहेको र सबै सेवा सुविधा निःशुल्क रहने बताइएको छ। उपस्थित महानुभावहरूको जिज्ञासाको क्रममा बाबाले निकट भविष्यमा मातृभूमि नेपालमा पनि यस्ता संस्थाहरू स्थापित हुँदै जाने बताएका छन्। भारतमा विख्यात बाबा कालिदास त्यहाँका ठूला साधुसन्तमा गनिन्छन्।

ज्योतिष पिता मनोहर दाहालका जेठा छोरा कालिदास बाबाले सानैमा ज्योतिष विद्या हासिल गरेका थिए। पढेलेखेको उनको परिवार ग्रामीण क्षेत्रमा सम्पन्न परिवारका रूपमा चिनिन्थ्यो।

बनारस हिन्दू विश्वविद्यालयबाट भौतिक शास्त्रमा स्नातकोत्तर पूरा गरेपछि उनले काठमाडौंस्थित अमृत साइन्स कलेजमा करिब तीन वर्ष प्राध्यापन गरेका थिए। पछिल्ला वर्षहरूमा हिन्दू सनातन धर्मलाई नेपालको राष्ट्रिय धर्मका रूपमा फर्काउनुपर्छ भनेर वकालत गर्दै आएका बाबा हजारौं शिष्यका गुरु समेत हुन्।

उक्त अवसरमा कोलोराडो नेपाली समुदायको तर्फबाट गुरुदेवलाई माला, खादा र पुष्पगुच्छाबाट सम्मान गरिएको थियो। रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालका महासचिव तेजप्रसाद ढकालले सञ्चालन गरेको कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष अर्जुन बगालेले कार्यक्रममा उपस्थित सबैलाई स्वागत मन्तव्य दिएका थिए। कार्यक्रममा बाबाका सहयोगी कवि रविन भण्डारीको पनि उपस्थिति रहेको थियो।





Comments

comments

131319