गणतन्त्रविरुद्ध हुने गतिविधिविरुद्ध एक भएर लाग्नुपर्छ : महासचिव पोखरेल

फाइल फोटो

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले लोकतान्त्रिक गणतन्त्रका विरोधीहरू जनविरोधी भएको बताएका छन् । एमाले बागमती प्रदेश कमिटीले पार्टीबाट निर्वाचित बागमती प्रदेशका वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने गतिविधि जनताका विरुद्धका गतिविधि भएको बताए।

गणतन्त्रविरुद्ध हुने गतिविधिविरुद्ध सिङ्गो पार्टी एक ढिक्का भएर लाग्नुपर्ने उनको भनाइ थियो । ‘लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा हुने सबै गतिविधि जनताको सम्प्रभुताका विरुद्धका अर्थात् जनताका विरुद्धका गतिविधिहरू हुन् भन्नेमा आम जनतालाई सचेत र जागरूक बनाउने अभियानमा सिङ्गो पार्टी पङ्क्ति क्रियाशील हुनु पर्दछ,’ महासचिव पोखरेलले भने ।

उनले गणतन्त्र दिवस जनताको उत्सवको दिन भएकाले पार्टीले विशेष उत्सवका रूपमा मनाउन लागिएको बताए । एमालेले गणतन्त्र दिवसलाई विविध कार्यक्रमको आयोजना गरी उत्सवका रूपमा मनाउन आम जनसमुदायलाई आह्वानसमेत गरेको छ ।

महासचिव पोखरेलले प्रदेश कमिटी र जिल्ला कमिटीले विभिन्न सङ्घसंस्थालाई गणतन्त्र दिवस उत्सवका रूपमा मनाउनका लागि विविध प्रकारका रचनात्मक कार्यक्रम आयोजना गर्न प्रेरित गर्नेसमेत बताए ।

उनले आवश्यकताअनुसार उपत्यकाको हकमा केन्द्रीय कार्यालय र उपत्यकाबाहिर प्रदेश तथा जिल्लाले नेतृत्वलाई परिचालन गरिने जानकारी दिए ।





Comments

comments

131329