पशन तमू / एचकेनेपाल डट कम –
हङकङ, २६ मे। हङकङको युन लोङमा एक १४ वर्षीय नेपाली किशोरले भवनको छतबाट हाम फालेर आत्महत्या गरेका छन्।
प्रहरीका अनुसार २५ मे आइतबार दिउँसो ४:०९ बजे हप चोई स्ट्रिट र फु चोई स्ट्रिटको चोकमा रहेको एक भवनको छतबाट एक व्यक्ति हाम फालेको रिपोर्ट प्राप्त भएको थियो।
घटनास्थलमा पुगेका उद्धारकर्मीहरूले १४ वर्षीय नेपाली किशोर विनय थापालाई बेहोस अवस्थामा फेला पारेका थिए। उनलाई तत्काल पोक ओई अस्पताल लगिएको थियो, जहाँ उपचारको क्रममा उनको मृत्यु भएको पुष्टि भएको छ।
किशोरको ५८ वर्षीय बुवा घटनाको खबर सुनेर भावनात्मक रूपमा विचलित भएका थिए र उनलाई पनि उपचारका लागि सोही अस्पतालमा भर्ना गरिएको थियो।
प्रहरीले घटनास्थलबाट कुनै सुसाइड नोट फेला नपारे पनि प्रारम्भिक अनुसन्धानबाट किशोर पारिवारिक समस्याका कारण मानसिक तनावमा रहेको जानकारी प्राप्त भएको छ।
प्रहरीले मृत्युको कारण पत्ता लगाउन शव परीक्षण गर्ने जनाएको छ।