हङकङ प्रहरीको गाडीको ठक्करबाट भियतनामी नागरिकको मृत्यु..


न्युज डेस्क
/ एचकेनेपाल डट कम –
हङकङ, २९ मे। बिहीबार बिहान मङ कक क्षेत्रमा प्रहरीको निजी सवारी साधनले ठक्कर दिँदा हङकङ आईडीवाहक ६० वर्षीय भियतनामी नागरिकको मृत्यु भएको छ।

नाथन रोड हुँदै याउ मा तेई तर्फ जाँदै गरेको प्रहरीको सादा पोशाकका अधिकारीहरू सवार गाडीले बिहान भियतनामी नागरिकलाई ठक्कर दिएको थियो। प्रारम्भिक अनुसन्धान अनुसार पीडितले प्रिन्स एडवर्ड रोड वेस्ट चोक नजिकैको पैदल यात्री क्रसिङको प्रयोग नगरी सडक पार गर्ने क्रममा दुर्घटना भएको बताइएको छ।

४६ वर्षीय प्रहरी अधिकृतले चलाएको गाडीले समयमै ब्रेक लगाउन नसक्दा पीडितलाई यति जोडले ठक्कर दिएको थियो कि उनी विन्डशिल्डमा बजारिए र त्यसपछि गाडी मुनि तानिएका थिए। प्रहरीको गाडी फास्ट लेनमा करिब २० मिटर अघि बढेपछि मात्र रोकिएको थियो। गाडीभित्र रहेका अधिकारीहरूले तत्काल यो घटनाको जानकारी आफ्ना वरिष्ठहरूलाई दिएका थिए।

आपतकालीन टोलीले गम्भीर घाइते र बेहोस अवस्थामा रहेका पीडितलाई तत्काल उद्धार गरी क्वोङ वाह अस्पताल पुर्‍याएको थियो। तर बिहान ४:३४ बजे उनलाई मृत घोषित गरियो।

दुर्घटनामा प्रहरीको गाडीको अगाडिको भाग नराम्ररी क्षतिग्रस्त भएको छ। गाडीको हुड बङ्ग्याइएको, नम्बर प्लेट बिग्रिएको र विन्डशिल्ड फुटेको अवस्थामा छ। फुटेको काँचमा पीडितको कपाल अड्किएको अवस्थामा फेला परेको छ।

यो घटनाको अनुसन्धान जारी रहेको र सम्बन्धित गाडी मङ कक प्रहरी स्टेशनको रहेको बुझिएको छ।





Comments

comments

131394