न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ६ जुन। हङकङको सो कोन पोस्थित रंगशालामा बिहीबार भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल र हङकङले गोलरहित बराबरी खेले। दुवै टोलीले उत्कृष्ट खेल प्रदर्शन गरे पनि गोल भने गर्न सकेनन्।
खेलमा नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङको प्रदर्शन उत्कृष्ट रह्यो। विशेषगरी दोस्रो हाफमा उनले तीन वटा खतरनाक प्रहारलाई विफल पार्दै टोलीलाई हारबाट जोगाए। त्यसैगरी युवा खेलाडी सृजनराज गौतमले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल खेल्ने अवसर पाए।
यो खेल आगामी एएफसी एसिया कप छनोटको तयारीको रूपमा खेलिएको थियो, जहाँ नेपालले जुन १० मा लाओससँग महत्वपूर्ण खेल खेल्नेछ। खेलको अन्तिम क्षणमा नेपालका मणि लामाले दोहोरो पहेँलो कार्ड पाएर मैदान छोड्नु परेको थियो।
३७ वर्षपछि यी दुई टोलीबीच भएको यो खेलले दुवै देशको फुटबल विकासको स्तर देखाएको छ। यसअघि सन् १९८८ मा काठमाडौंमा भएको खेल पनि गोलरहित बराबरीमा सकिएको थियो।