काठमाडौं। अमेरिकी आप्रवासन नीतिको कडाइका कारण ३७ जना नेपाली नागरिक आइतबार स्वदेश फिर्ता भएका छन्। यी मध्ये ५ जना महिला र ३२ जना पुरुष रहेका छन्। विशेष चार्टर्ड विमानमार्फत उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पठाइएको हो।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख एसएसपी कृष्णप्रसाद पंगेनीका अनुसार फर्किएका नागरिकहरूलाई विमानस्थलमै प्रारम्भिक सोधपुछ गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरेर घर पठाइने छ। उनले फर्किएका कुनै पनि नागरिकले आपराधिक गतिविधिमा संलग्न नभएको स्पष्ट पारे।
“यदि कुनै गिरोहले अवैध रूपमा उनीहरूलाई अमेरिका पुर्याएको प्रमाण वा उजुरी प्राप्त भएमा मात्र थप अनुसन्धान गरिनेछ,” एसएसपी पंगेनीले भने।
राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन नीतिपछि अमेरिकाबाट डिपोर्ट हुने नेपालीको संख्या बढ्दो छ। यी ३७ जनासहित हालसम्म १६३ नेपाली नागरिक अमेरिकाबाट डिपोर्ट भइसकेका छन्। यसअघि २०८१ फागुनमा टेक्सास राज्यबाट ९ जना नेपालीलाई डिपोर्ट गरिएको थियो।