कोलोराडोमा तेस्रो मुना इही सम्पन्न

नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। कोलोराडोवासी नेपालीहरूको सांस्कृतिक केन्द्र नेपालीघरमा तेस्रो मुना इही सम्पन्न भएको छ।

नेवा:खल: कोलोराडोको आयोजनामा खल:का कार्यसमिति, स्वयंसेवक र इहीमा संलग्न कन्याहरूका परिवारहरूको उपस्थितिमा इही संस्कार विधिपूर्वक सम्पन्न गरिएको हो।

गुरु ज्योभाजु बीरेन्द्र राजोपाध्याय तथा गुरुमाँ प्रतिभा शर्माद्वारा सम्पन्न भएको कार्यक्रममा फ्लोरिडाका प्रगति कंसाकार, वेस्टमिन्स्टरका आभा तिमिल्सिना र एरिका दृष्टि श्रेष्ठ इही संस्कारबाट लाभान्वित भएको नेवा:खल: कोलोराडोकी मिसा कवकी काजी रमिता तुलाधरले बताएकी छन्।

सनातन धर्मग्रन्थ अनुसार, रजस्वला भइसकेको कन्यालाई कन्यादान गर्न नमिल्ने भएकाले बाल्यावस्थामा नै भगवान् श्री सुवर्ण कुमारलाई कन्यादान गरिने यो संस्कार नेवा: तजिलजिमा महत्वपूर्ण मानिएको छ। नेवार समुदायका कन्याहरुको बाल्यावस्थामा नै भगवान् सुवर्ण कुमारसँग वैदिक तन्त्र निर्देशन अनुसार इही संस्कार सम्पन्न भैसकेपछि कहिल्यै पनि विधवा नहुने शास्त्रीय मान्यता छ।

नेवार महिलाहरुले सौभाग्यका लागि व्रत बस्नु पर्ने आवश्यकता धर्मशास्त्रले देखाएको छैन। यसै कारणले सनातन हिन्दू नै भएतापनि नेवार महिलाहरुले तीजको व्रत लिँदैनन्।

कोलोराडोमा नेवाः समुदायको जनघनत्व बढेसँगै १५ वर्षअघि स्थापित नेवाः खलःले नेपालभाषा र नेवारी संस्कृति, संरक्षण र पहिचान मार्फत नयाँ पुस्तालाई सुसूचित गराउँदै आएको छ।





Comments

comments

131597