राजा महेन्द्रका विश्वासपात्र खगेन्द्रजंग गुरुङको निधन..

पोखरा । नेपालको राजनीतिक इतिहासमा विशिष्ट भूमिका निर्वाह गरेका तत्कालीन राजा महेन्द्र शाहका विश्वासपात्र तथा पञ्चायतकालीन मन्त्री लमजुङका खगेन्द्रजंग गुरुङको सोमबार बिहान निधन भएको छ।

-

९५ वर्षीय गुरुङको काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा बिहान सवा ५ बजे निधन भएको परिवारजनले जानकारी दिएका छन्।

विशेष गरी १९६० को दशकमा नेपाल र चीनबीचको कूटनीतिक सम्बन्धमा महत्वपूर्ण भूमिका निर्वाह गरेका गुरुङले राजा महेन्द्रको विशेष दूतको रूपमा चिनियाँ नेता माओत्सेतुङसँग भेटवार्ता गरेका थिए । यो भेटवार्ताले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको इतिहासकारहरू बताउँछन्।

पञ्चायत व्यवस्थामा २०१७ र २०२२ सालमा उपमन्त्री बनेका गुरुङले गुरुङ समुदायमा निर्दलीय व्यवस्था लागू गराउन र मनाङमा भूमि सुधार ऐन कार्यान्वयन गराउन महत्वपूर्ण भूमिका खेलेका थिए । तर पछिल्ला वर्षहरूमा उनी जनजाति अधिकारको पक्षमा वकालत गर्दै आएका थिए।

उनको श्रीमतीको दुई वर्षअघि निधन भएको थियो । उनका चार छोरीहरू र दुई छोरामध्ये एक छोराको पहिले नै हङकङमा निधन भइसकेको छ भने अर्का छोरा विदेशमै बस्दै आएका छन् । उनको पार्थिव शरीरलाई बौद्ध परम्पराअनुसार पशुपतिमा अन्त्येष्टि गरिएको छ।

खगेन्द्रजंग गुरुङको निधनसँगै नेपालको राजनीतिक र कूटनीतिक इतिहासको एक महत्वपूर्ण व्यक्तित्व गुमेको विज्ञहरूले बताएका छन्।





Comments

comments

131699