काठमाडौं । वैदेशिक रोजगारीको लागि बेलायत (युके) पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक युवती पक्राउ परेकी छिन्। महानगरीय प्रहरी परिसर काठमाडौंले धादिङकी ३१ वर्षीया रमिला अधिकारीलाई बुधबार काठमाडौंको चण्डोलबाट पक्राउ गरेको हो।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यका अनुसार अधिकारीले विभिन्न व्यक्तिहरूलाई बेलायत पठाइदिने भन्दै ठूलो रकम असुलेको पाइएको छ। पीडितहरूले वैदेशिक रोजगार विभागमा उजुरी दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
प्रहरीका अनुसार अधिकारीले पीडितहरूसँग लाखौं रुपैयाँ लिएर फरार भएकी थिइन्। उनलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ। प्रहरीले अन्य पीडितहरूलाई पनि सम्पर्कमा आउन आग्रह गरेको छ।