भुटानी नेपाली साहित्यकारहरुको त्रिदिवसीय विश्व सम्मेलन नेदरल्याण्डमा सम्पन्न: ६ लाखको पुरस्कार घोषणा..

हेग, नेदरल्याण्डमा भुटानी नेपाली साहित्यकारहरुको अन्तर्राष्ट्रिय संगठन ग्लोबल भुटनिज लिटरेचर अर्गनाइजेशन (जिबिएलओ) को बृहत अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रम गत १३ देखि १५ जुन २०२५ का दिन भव्यतापूर्वक सम्पन्न भएको छ।

पहिलो दिन हेगको डेल्फ विश्वविद्यालयमा विभिन्न कार्यपत्रहरु प्रस्तुत गरिएको थियो। कार्यपत्रहरुमध्ये स्वीकारोक्ति सिद्धान्तको बारेमा सिद्धान्तकार डेन्जोम साम्पाङले सहभागीहरुबीच बृहत चर्चा तथा अन्तरक्रिया गरेका थिए।

दोस्रो दिन आर्य समाज भवनको हलमा साहित्यिक वाचन, आधा दर्जन कार्यपत्र प्रस्तुति, सम्मान प्रदान, कृति विमोचन र नयाँ नेतृत्व घोषणा गरिएको थियो। यसै अवसरमा नेपाली साहित्यको क्षेत्रमा हालसम्मकै सबैभन्दा ठूलो रकमको स्वीकारोक्ति सिद्धि पुरस्कार वरिष्ठ साहित्यकार बैरागी काँइलालाई प्रदान गर्ने घोषणा गरिएको छ। काँइलालाई निकट भविष्यमा नेरु ६ लाख रुपैयाँको नगद पुरस्कार प्रदान गरिने छ। यसअघि यो पुरस्कार आसामका नेपाली साहित्यकार स्व. लिल बहादुर क्षेत्रीलाई प्रदान गरिएको थियो।

तेस्रो दिन “शान्ति र स्थायित्वको निम्ति स्वीकारोक्ति सिद्धान्त” नाराका साथ, स्वीकारोक्तिको हरियो भेष्ट लगाएर डेढ दर्जन स्रष्टाहरुले हेग विश्वविद्यालयको प्राङ्गणबाट साइकल यात्रा शुरु गरी शहरको शान्ति दरबार, अन्तर्राष्ट्रिय फौजदारी अपराध अदालत र संसद भवन लगायतका स्थानमा साइकल र्‍याली गरेका थिए।

विश्वका विभिन्न १६ मुलुकबाट सहभागिता रहेको यस सम्मेलनमा अमेरिका, बेलायत, न्युजिल्याण्ड, अष्ट्रेलिया, नर्वे, स्लोभेनिया, पोल्याण्ड, बेल्जियम, नेदरल्याण्ड, डेनमार्क, भुटान, नेपाल र फ्रान्स लगायतका देशका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

सन् २०२५-२०२७ का लागि नयाँ नेतृत्व चयन गरिएको छ, जसमा:

  • अध्यक्ष: पातले अन्तरे (अमेरिका)
  • वरिष्ठ उपाध्यक्ष: गोपाल पौडेल (न्युजिल्याण्ड)
  • महासचिव: सुसन माझी (ओहायो)
  • सचिव: लक्की रासी (केन्टकी)
  • कोषाध्यक्ष: शेखर कोइराला (पेन्सिलभेनिया)
  • सहकोषाध्यक्ष: अबि न्यौपाने (ओहायो)
  • कार्यक्रम प्रबन्धक र निर्देशक: इश्वर ढकाल (ओहायो)
  • साँस्कृतिक संयोजक: सरगम थपलिया (पेन्सिलभेनिया)
  • प्रचार प्रसार प्रमुख: भिम गुरुङ (नेब्रास्का)

सदस्यहरुमा खड्ग गजमेर (नेब्रास्का), देवी राई (आइओवा), यादु अधिकारी (ओहायो) र छत्र दंगाल (अष्ट्रेलिया) रहेका छन्।

बोर्ड अफ ट्रस्टीमा डेन्जोम साम्पाङ (पेन्सिलभेनिया), जय वान्तावा (जर्जिया), कर्ण गुरुङ (नेब्रास्का), प्रदीप गुरुङ (पेन्सिलभेनिया), आभाष रिखाम (पेन्सिलभेनिया) र ममता मोक्तान (पेन्सिलभेनिया) रहेका छन्।

सबिना श्रेष्ठको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमका मुख्य अतिथि बेनेलक्सका लागि नेपाली राजदूत महामहिम सेवा लम्साल र विशिष्ट अतिथिमा गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदका नवनिर्वाचित उपाध्यक्ष विश्वासदीप तिगेला रहेका थिए।

कार्यक्रममा डा. नारद पोखरेलले स्वीकारोक्ति सिद्धान्तबारे सैद्धान्तिक चर्चा गर्नुभएको थियो। कवि प्रकाश आङदेम्बे, डिल्लीराज अम्माई, सूर्यराज गिरी, कवि दीपा राई पुन, पञ्चम अधिकारी, हरि पौडेल, भुटानी मानव अधिकारकर्मी राम कार्की, एनआरएनए नेदरल्याण्डका पूर्व अध्यक्ष शशी पौडेल र वर्तमान अध्यक्ष थानेश्वर कडेल लगायतले आफ्ना सिर्जना वाचन तथा मन्तव्य दिएका थिए।

कार्यक्रमका बीच-बीचमा स्थानीय कलाकारहरुको नृत्य तथा गीत-संगीत प्रस्तुतिले रोचकता थपेको थियो। वीरमान श्रेष्ठ, सबु पौडेल र रस्मिता पराजुलीले शान्ति योग सिकाएका थिए।

एनआरएनएका उपाध्यक्ष विश्वासदीप तिगेलाले एक कार्यपत्र प्रस्तुत गर्दै नेपाली भाषाको नाम खस-जुम्ली भाषा हुनुपर्ने र नेपालभित्र बोलिने सबै भाषाको साहित्यलाई नेपालीय साहित्य भनिनुपर्ने प्रस्ताव राखेका थिए। उनले समाज भाषा वैज्ञानिक सर्वेक्षण २०१६ को अध्ययन प्रतिवेदनलाई आधार बनाई जुम्ली नेपाली भाषीमध्ये ७५ प्रतिशतले अरुसँग कुरा गर्दा प्रायः ‘नेपाली भाषा’ को प्रयोग गर्ने गरेको तथ्य प्रस्तुत गरेका थिए।

कार्यक्रमको समापनमा समारोहका सभापति कर्ण गुरुङले मायाको चिनो प्रदान गर्दै सबै सहभागीलाई धन्यवाद दिएका थिए। नेदरल्याण्डमै रहेर हेग र डेल्फ विश्वविद्यालयमा अध्यापनरत डि.पी. शर्मा मैनालीले यस छैठौं संस्करणको सम्मेलनको संयोजन गरेका थिए। कार्यक्रमको सञ्चालन महासचिव पातले अन्तरेले गरेका थिए।

भुटानी पूर्ववासीहरु विश्वका विभिन्न मुलुकहरुमा छरिएर रहेका छन्। नेदरल्याण्डमा मात्र करिब ५ सय भुटानी परिवार बसोबास गर्दछन्। त्रिदिवसीय कार्यक्रमपश्चात् करिब एक दर्जन भुटानी नेपाली साहित्यकारहरु बेल्जियम, लक्जेम्बर्ग, जर्मनी, स्विट्जरल्याण्ड, फ्रान्स र बेलायतको भ्रमणमा निस्किएका छन्।

भुटानमा नेपाली भाषा र साहित्यको अधिकारको लागि आवाज उठाउँदा शरणार्थी हुन पुगेका भुटानी नेपालीहरुको यो अभियान र योगदान अनुकरणीय रहेको छ।





Comments

comments

131717