यात्रीको निर्देशनमा रामायण मञ्चन

एचकेनेपाल डट कम संवाददाता –
काठमाडौं, ९ असार । कृष्ण शाह यात्री मूलत प्रयोगधर्मी नाटक निर्देशक हुन् । विगत अढाइ दशकदेखि उनले नाटकमा विभिन्न प्रयोग गर्दै आइरहेका छन् । यस पटक भने उनले रामायणलाई नाटककाका रुपमा रङ्गमञ्चमा भिन्न रुपमा प्रस्तुत गरे । सर्वनाम नाटकघरमा पहिलो पटक मञ्चन भएको नाटक ‘रामायण’मा रङ्गमञ्चमा स्थापित कलाकारहरुले अभिनय गरेका थिए ।

‘रामायण’का निर्देशक यात्री भन्छन्, “मैले सानो छँदा कटारी, उदयपुरमा ‘रामलीला’ पटक–पटक हेरेको छु । महिनादिनसम्म रामायणका कथा मञ्चन गरिन्थ्यो । रामायणका पात्रहरु मन र मष्तिष्कमा गहिरोसँग बसेको उतिबेलै देखि हो । मैले ‘रामायण’का विभिन्न प्रमुख चरित्रहरुलाई लिएर यसअघि पनि ‘निरावण’, ‘आवरण÷अनावरण’, ‘क्रमशः नायिकाहरु’ नाटकहरु मञ्चन गरिसकेको छु । यस पटक रामायणका मिथकलाई जस्ताको तस्तै मञ्चमा प्रस्तुत गरेको छु ।”

नाटक रामायणलाई ज्योतिपुञ्ज साइन थिएटरको प्रस्तुतिमा कृष्ण शाह यात्रीले परिकल्पना, आलेख नाटककीरण र निर्देशन गरेका हुन् । यस नाटकमा विष्णुभक्त फुँयाल, किशोर अनुराग, अशोक शिवाकोटी, देवु वरा, डम्बर ढकाल, रिता थापा, लक्ष्मण पौडेल, समिर राई, ज्ञानकुमार खड्का, गणेश दुलाल, सरोज बस्नेत, श्वेता मैनाली, रोशना रामुदामु, ज्योतिप्रभा मरासिनी, मनिष पौडेल, आशिष खत्री, मेरी राई, पारु श्रेष्ठ, अप्सरा लामिछाने, कुशल मगर, लक्ष्मी तिवारी, राजन ठकुरी लगायत चार दर्जन कलाकारहरुले अभिनय गरेका थिए । नाटकमा सबैभन्दा कम ४ वर्षका संभवदेखि ८० वर्षका कलाकार विष्णुभक्त फुँयालसम्मले अभिनय गरेका थिए । नाटकमा तीनओटा पुस्ताका कलाकारहरु थिए । एक महिनाको तयारी पश्चात पहिलो पटक मञ्चन गरिएको नाटक ‘रामायण’लाई समय मिलाएर फेरि मञ्चन गरिने आयोजक एवं निर्देशक कृष्ण शाह यात्रीले बताए ।

रामायण मञ्चन गर्दा वेषभूषा र मञ्च सामग्रीहरुमा विशेष ध्यान दिनु पर्ने हुन्छ । त्यसैले आधुनिक रङ्गमञ्चमा रामायण धेरै कम्ति मञ्चन हुने गर्दछ । नाटक हेरिसकेपछि काठमाडौं विश्वविद्यालयका डा. निर्मलमणि अधिकारीले भने, “काठमाडौंको रङ्गमञ्चमा यस्तो नाटक कम्ति हेर्न पाइन्छ । यस पटक रामायण मञ्चनमा नृत्य, गीत, सङ्गीत, कथावाचन र अभिनयको बेजोड प्रस्तुति रहेको देखियो” । यसैगरी रामायणलाई नाट्यकर्मी यात्रीले बडो सुन्दर एवं प्रभावकारी ढङ्गले प्रस्तुत गरेको कुरा संस्कृतिविद् डा रामदयाल राकेशले बताए । थाइल्यान्ड, कम्बोडिया, भारत, श्रीलङ्का लगायतका देशहरुमा विभिन्न भाषामा रामायण मञ्चन हेरिसकेका वृत्तचित्र निर्देशक बिनय बहलले भने “नेपाली भाषामा मञ्चन गरिएको रामायणको प्रस्तुति मलाई निकै मन प¥यो । यसमा कलाकारहरुले सशक्त अभिनय गरेका थिए” ।

रामायण संसारकै एक महान् एवं विशाल ग्रन्थ मानिन्छ । यसमा निकै सुन्दर, मर्मस्पर्शी एवं लोकप्रिय कथाहरु रहेका छन् । रामायणलेसभ्य समाज निर्माण गर्नका लागि मार्गनिर्देशन समेत गरेको छ । रामायणलाई ज्ञानको सागर पनि भनिन्छ । यसमा विज्ञानका अनेक सङ्केतहरु पनि भेटिन्छन् । यसलाई नाटकको रुपमा उतार्नु र यसका पात्रहरुमा अभिनय गर्न पाउनु जो कोही रङ्गकर्मीहरुका निम्ति पनि गर्व र प्रतिष्ठाको विषय हुने नाट्यकर्मी यात्री बताउँछन् ।

थप तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्





Comments

comments

Leave a Reply

13186