नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। जुलाई १३, कोलोराडोमा रहेका नेपालीहरुबिच भेटघाट र एक आपसमा समन्वय तथा सद्भाव बढाउने उद्देश्यले आयोजना गरिएको समर पिकनिकमा चर्चित लोक तथा दोहोरी गायकद्वय राजु परियार र चन्द्र शर्मा सहभागी भएका छन्।
रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालको आयोजनामा नर्थग्लेन स्थित रमणीय पार्कमा आइतबार दिउँसो २ बजेदेखि ७ बजेसम्म आयोजित कार्यक्रममा कोलोराडोमा सक्रिय संघ संस्थाका पदाधिकारी, बुद्धिजीवी, समाजसेवी, साना बालबालिका, व्यवसायी, पत्रकार, गण्यमान्य तथा नेपालीभाषी बा आमा, दाजुभाइ, दिदीबहिनीहरुको माझ कलाकार द्वय सहभागी भएका हुन्।
नेपालीभाषी समुदायको पिकनिकमा सहभागी कलाकारद्वय राजु परियार र चन्द्र शर्मालाई पिकनिक आयोजक संस्था रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालका पदाधिकारीहरुले फूलको गुच्छा, खादा पहिर्याई मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए। कार्यक्रममा कलाकार राजु परियारले सम्बोधन गर्दै प्रवासमा रहनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरुको जमघटमा सहभागी हुन पाउँदा ज्यादै खुसी लागेको बताउँदै, नेपाली-नेपालीबीच आपसमा समन्वय, सद्भाव र एकता सधैँ कायम रहोस् भन्दै मातृभूमिलाई संझिरहन सबैलाई अनुरोध गरे।
त्यसैगरी पिकनिक कार्यक्रमलाई थप मनोरञ्जनका साथै सबैलाई सक्रिय सहभागिता गराउन बालबालिकाहरुलाई बिस्कुट खाने खेल, Head shoulder knee toe र अन्य सहभागीहरुलाई घैटो फुटाउने खेल लगायतका विभिन्न खेल खेलाइएको थियो। खेलकुद प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विजयी प्रतियोगीहरुलाई आयोजक संस्थाका अध्यक्ष आकृती राईले पुरस्कार प्रदान गरी सम्मान गरेकी थिइन्।
बालबालिका, वृद्ध, वृद्धा, युवा युवती सबै उमेरका व्यक्तिहरुको उत्साहजनक उपस्थिति रहेको उक्त कार्यक्रममा नेपालीको पहिचान झल्कने पोशाक लगाएर आउने मानिसहरुको उपस्थिति उल्लेख्य रहेको थियो। ठूलो तालको नजिक रमणीय पार्कमा आयोजित कार्यक्रममा उपस्थित केहीले तालको परिक्रमा गर्दै मनोरञ्जन लिएका थिए।
पिकनिकमा वितरित केही खानाको परिकारहरु स्थानीय रेष्टुरेन्टहरुले सौजन्य उपलब्ध गराएका थिए भने, केही संस्थाका कार्यसमितिका पदाधिकारीहरुले घरघरमा तयार पारी ल्याएर वितरण गरेका थिए। कार्यक्रममा खाना तथा नगद सहयोग गर्नेहरुको नाम पढेर सुनाइएको थियो।
कार्यक्रममा संस्थाका अध्यक्ष आकृति राईले उपस्थित सबैलाई स्वागत गर्दै यहाँ बसोवास गर्दै आएका नेपाली भाषी दाजुभाइ दिदीबहिनीहरुलाई मनोरञ्जनका साथै एकता, सद्भाव र एक आपसमा सहयोगको भावना विकास गर्न पिकनिक आयोजना गरिएको बताएकी थिइन्। त्यसैगरी संस्थाको महासचिव तेजप्रसाद ढकालले संचालन गरेको कार्यक्रममा कोषाध्यक्ष शुनिता अधिकारीले कार्यक्रममा उपस्थित भई पिकनिक सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी थिइन्।