बेलायतमा भानु जयन्ती उत्साहकापूर्वक मनाइयो

सम्वाददाता / एचकेनेपाल डट कम-
लण्डन, बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद युकेद्वारा २१२औँ भानु जयन्ती, सम्मान, कवितावाचन र प्रवचन लगायतका विविध साहित्यिक कार्यक्रम गरी उत्साहवर्धक रूपमा शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर अल्डरसर्टमा मनाइयो।

अल्डरसर्टस्थित शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर परिवारलाई प्रशंसापत्रद्वारा सम्मान गर्नुहुँदै समारोहका प्रमुख अतिथि परिषद्का वरिष्ठ प्रमुख सल्लाहकार तथा यही संस्थाका पूर्व अध्यक्ष डा. राघवप्रसाद धिताल OBE ले नेपाली भाषा साहित्यको जागरण र सम्मान अभिवृद्धि गर्नमा आदिकवि भानुभक्तको योगदान गहन रहेको चर्चा गर्नुका साथै बेलायतमा नेपाली भाषा साहित्यको विकासमा वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहले सन् १९९५ मा नेपाली साहित्य विकास परिषद् युकेको स्थापना गरेर बेलायतमा नेपाली भाषा साहित्यको जग बसाउन विशिष्ट योगदान पुर्याएको र इतिहास रचेको चर्चा गर्नुभयो।

समारोहलाई स्वागत गर्दै वरिष्ठ सहअध्यक्ष ध्रुव केसीले त्यसबेला अत्यन्त अविकसित समाज रहेको इतिहासको त्यो कालखण्डमा आदिकवि भानुभक्तले नेपाली भाषामा जुन रामायणीय साहित्यको मौलिक लहर चलाए त्यो आफैमा एक साहसिक कदम थियो र जसले नेपाली साहित्यको यात्रा तथा समाजको चेतना र एकता जागरण गर्नमा महत्वपूर्ण योगदान पुर्‍याएको चर्चा गर्नुभयो।

सभापतिको आसनबाट बोल्नुहुँदै परिषदका अध्यक्ष वरिष्ठ कवि कोमल प्रसाद श्रेष्ठ मल्लले नेपाली साहित्य विकास परिषद युकेले आफ्नो स्थापनाकाल सन् १९९५ देखि नै बेलायतमा भानु जयन्ती मनाउँदै आएको चर्चा गर्नुहुँदै नेपाली पहिचान युगयुगसम्म जीवन्त राख्न हाम्रो भाषा, साहित्य, संस्कृति जस्ता चिनारीहरू जोगाउँदै लैजानु पर्ने औचित्यतर्फ प्रकाश पार्नुभयो।

यसअघि परिषद्का पूर्व अध्यक्ष हरिसिंह थापाले शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर अल्डरसर्टले विदेशमा नेपाली भाषा, धर्म संस्कृतिलाई जीवन्त राख्न अनुकरणीय कार्य गरेको चर्चा गर्नुभयो। साथै पूर्व अध्यक्ष थापाले आदिकवि भानुको योगदान र प्रेरणा नेपाली समाजमा अभिन्नरूपले भिजेको छ भन्नुहुँदै नेपाली साहित्य विकास परिषद्ले बेलायतमा भानुको सम्मान र कीर्तिलाई फैलाउने कार्य परिषद्को स्थापनाकाल देखि नै निरन्तर गर्दै आएको चर्चा गर्नुभयो।

कार्यक्रम सञ्चालन गर्नुहुँदै परिषद्की सहअध्यक्ष डा. सुधा श्रेष्ठले सामाजिक एकता र चेतनाको विकासमा भानुभक्तको साहित्यिक योगदान अत्यन्त महत्वपूर्ण रहेको चर्चा गर्नुभयो। बेलायतमा परिषद्ले भानुको सम्झनामा हरेक वर्ष भानु जयन्ती मनाएर साहित्यिक गतिविधि मात्र बढाएको होइन, समाजलाई सिर्जनशील हुन पनि प्रेरणा जगाइरहेको छ भन्नुभयो।

यस अघि स्वागत मन्तव्य दिनुहुँदै परिषद्का वरिष्ठ सहअध्यक्ष ध्रुव केसीले जसरी समग्रमा नेपाली भाषा साहित्यका कुरा आउँदा हामी सधैँ आदिकवि भानुभक्तलाई सम्झने गर्दछौं र त्यसरी नै हामीले सिर्जनशील भएर नेपाली भाषा साहित्यको गोडमेलमा लाग्यौँ भने आदिकवि प्रति सच्चा श्रद्धाञ्जली पुग्दछ भन्नुभयो। वरिष्ठ सहअध्यक्ष केसीले परिषद्ले यही उद्देश्य बोकेर परिषद्को स्थापनाकाल सन् १९९५ देखि नै भानु जयन्ती मनाउँदै आएको चर्चा गर्नुभयो।

आदिकवि भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पणबाट आरम्भ भएको समारोहमा परिषद्का पूर्व अध्यक्ष वरिष्ठ साहित्यकार कवि हरिसिंह थापाले भानुभक्तका रामायणका श्लोकहरू वाचन गर्नुभएको थियो।

यस अघि समारोहमा प्रमुख अतिथि परिषद्का वरिष्ठ प्रमुख सल्लाहकार डा. राघवप्रसाद धितल OBE ले अध्यक्ष तथा कार्यकारिणी पदाधिकारी शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर अल्डरसर्टलाई प्रशंसापत्रद्वारा सम्मान गर्नुभएको थियो।

दोस्रो चरणको कवि गोष्ठी कार्यक्रममा कविता वाचन गर्ने कवि कवयित्रीहरूमा वसन्त रायक्षेत्री, हरिसिंह थापा, ध्रुव केसी, डा. सुधा श्रेष्ठ, हरि विभोर कार्की, बिनोद पराजुली, मनोज अन्जान, पवन दाहाल, मदन थापा, मधुसुधन सत्याल, शुषमा भट्टराई, विरेन्द्र कुँवर, विक्रम भट्टराई, लेख गुरुङ, किशोर गुरुङ र कोमल मल्ल हुनुहुन्थ्यो भने घन बहादुर थापा मगर, वासु शर्मा र वासुदेव साप्कोटाको कविता कोमल मल्लबाट वाचन गरियो।

समारोहमा मन्तव्य राख्नुहुँदै परिषद्का सल्लाहकार तथा यती नेपाली एसोसिएसन युकेका पूर्व अध्यक्ष हरिविभोर कार्कीले जसरी समग्रमा नेपाली भाषा साहित्यका कुरा आउँदा हामी सधैँ आदिकवि भानुभक्तलाई सम्झने गर्दछौं र त्यसरी नै हामीले सिर्जनशील भएर नेपाली भाषा साहित्यको गोडमेलमा लाग्यौँ भने आदिकवि भानुभक्त प्रति सच्चा श्रद्धाञ्जली पुग्दछ भन्नुभयो।

समारोहमा तनहुँ समाज युकेका अध्यक्ष तथा संरक्षक लेख बहादुर गुरुङले परिषद्ले भानुभक्त जयन्ती यहाँ मनाएर चालिस वर्ष पछि मेरो मन मगजमा भानुभक्तको सम्झना जगाएर प्रशंसनीय कार्य गरेको चर्चा गर्नुभयो।

परिषद्को तर्फबाट सहअध्यक्ष वाचस्पति रेग्मीबाट समारोहलाई सफल बनाउन उपस्थित सबै लब्ध प्रतिष्ठित व्यक्तित्वहरू र आर्थिक तथा भौतिक सहयोग पुर्‍याउनुहुने विशिष्ट पदाधिकारी व्यक्तित्वहरू डा. राघवप्रसाद धिताल OBE तथा डा. जनककुमारी धिताल, शुषमा भट्टराई, अल्डरसर्ट स्थित शिव कल्चरल एण्ड कम्युनिटि सेन्टर परिवार, घनबहादुर थापा मगर तथा कृष्णा थापा मगर, ध्रुव केसी, डा. सुधा श्रेष्ठ, मनोज अन्जान, विरेन्द्र कुँवर, मदन थापा लाई हार्दिक धन्यवाद ज्ञापन गरिएको थियो।

समारोहमा शिवनामी खादा लगाई अतिथि सबैलाई सम्मान गर्नुहुँदै अध्यक्ष विक्रम भट्टराईले यस्ता कार्यक्रम भविष्यमा पनि गर्न सहयोगको ढोका खुला रहनेछ भन्नुभयो।

समारोहमा स्वागत मन्तव्य वरिष्ठ सहअध्यक्ष ध्रुव केसी र उद्घोषण सहअध्यक्ष डा. सुधा श्रेष्ठ र सभापतित्व अध्यक्ष कोमल मल्लबाट भएको थियो।





Comments

comments

132033