हङकङ पोष्टमा भएको साइबर आक्रमणको प्रहरी अनुसन्धान शुरु..

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २३ जुलाई। हङकङ पोष्टको ईसी-शिप अनलाइन पोर्टलमा भएको ह्याकिङको विषयमा प्रहरीले अनुसन्धान थालेको छ। हङकङ पोष्टले मंगलबार पुष्टि गरेअनुसार ह्याकरहरूले आइतबार र सोमबार ग्राहकहरूको व्यक्तिगत जानकारी चोरी गरेका थिए।

हङकङ पोष्टका अनुसार ह्याकरहरूले प्रेषक र प्रापकहरूको नाम, ठेगाना, फोन नम्बर, फ्याक्स नम्बर र इमेल ठेगानाहरू साइबर आक्रमणको दौरान हासिल गरेका थिए।

हङकङ पोष्टले प्रभावित सबै खाता धारकहरूलाई इमेल पठाई सतर्क रहन अनुरोध गरेको जनाएको छ।

यस घटनाको पुष्टि गरेको एक दिनपछि हङकङ पोष्टले यो घोषणा गरेको हो। पहिले उनीहरूले ह्याकरहरूलाई रोकेको र प्रहरी तथा अन्य अधिकारीहरूलाई सूचित गरिएको बताएका थिए। यसका साथै ईसी-शिप सामान्य रूपमा चलिरहेको पनि जनाएका थिए।

हङकङ पोष्टले सूचना र साइबर सुरक्षा सम्बन्धी स्थापित सरकारी प्रक्रियाहरूको पालना गरिरहेको र प्रहरी अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएको छ।





Comments

comments

132184