न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २३ जुलाई। गत सोमबार (जुलाई १४) देखि हराइरहेकी १८ वर्षीया डेजी क्वोक ओई-क्वान हङकङको लायन रक पहाडी क्षेत्रमा मृत अवस्थामा फेला परेकी छिन्।
सिभिल एड सर्भिसका कर्मचारीहरूले बुधबार दिउँसो लगभग १२:३५ बजे पहाडी क्षेत्रमा लडिरहेको अवस्थामा उनलाई फेला पारेका थिए। विगत केही दिनदेखि २०० भन्दा बढी कर्मचारीहरूले उनको व्यापक खोजी गरिरहेका थिए। घटनास्थलमै उनको मृत्यु भएको घोषणा गरिएको छ।
क्वोकलाई अन्तिम पटक जुलाई १४ मा मेई फूमा रहेको उनको निवासबाट प्रस्थान गरेकको देखिएको थियो। सीसीटिभी फुटेजले उनको अन्तिम गतिविधि लोक फू प्लेसमा देखाएको थियो, जहाँ उनी लायन रक कन्ट्री पार्कतर्फ जाँदै थिइन्।
उनको परिवारका अनुसार, क्वोकले आफ्नो वालेट मात्र लिएकी थिइन्, र उनको अक्टोपस कार्डसँग सम्बन्धित रेकर्डहरूले उनी हराएको अवधिमा कुनै पनि लेनदेन नभएको संकेत गरेको छ।
क्वोक आफ्नो विश्वविद्यालय प्रवेश परीक्षामा सहभागी हुन नसकेपछि परिवारले उनको हराएको जानकारी दिएका थिए।