कम्प्युटर इन्जिनियरिङ गरेका युवाको च्याउ खेती

नेपालगन्ज। भारतमा कम्प्युटर इञ्जीनीयरिङको पढाइ सकेर नेपाल फर्केका मिलन बस्नेतले बाँकेमा लोभलाग्दो च्याउ खेती गरेका छन् । जिल्लाको बैजनाथ गाउँपालिका–१ गाभर भ्यालीमा ‘भ्याली एग्रो फार्म’ दर्ता गरी उनले आधुनिक प्रविधिमा च्याउ खेती गरेका हुन्।

-

धनगढीका ३२ वर्षीय बस्नेतले कृषिजन्य वस्तु भारतबाट आउने तर गुणस्तरीय नभएर, नेपालमा आउने च्याउ रसायनयुक्त हुने भएकाले अर्ग्यानिक उत्पादनमा केन्द्रित भएको बताए । “भारतबाट पढाइ सकेर आएपछि मलाई विदेश जाने दबाब थियो, तर कृषिमा नयाँ केही गर्नुपर्छ भन्ने सोचले च्याउ खेतीप्रति आकर्षण बढ्यो । विभिन्न अध्ययन, अनुसन्धानअनुसार च्याउ खेतीमा सम्भावना देखेकाले आधुनिक प्रविधि अपनाएको हुँ”, उनले भने ।

किसान बस्नेतले नेपालका सबै होटेलमा च्याउ चीनबाट आएको अध्ययनले देखाएको जनाउँदै यसमा रसायनको प्रयोग बढी हुने भएकाले मानव स्वास्थ्यमा नकारात्मक असर गर्ने धारणा राखे । “आफ्नै देशमा केही गरौँ भनेर गाभर भ्यालीलाई छनोट गरी आधुनिक प्रविधिमा च्याउ खेती सुरु गरेको छु”, उनले भने ।

आठ वर्षदेखि च्याउ उत्पादन गर्दै आएका बस्नेतले गौ मूत्रसहित जैविक मलको प्रयोग गरेर अर्ग्यानिक खेती गर्ने गरेको बताए । यहाँ डल्ले र पाते च्याउको उत्पादन हुने उल्लेख गर्दै उनले नयाँ अभ्यासका रूपमा ‘लाइन्समेन मसरुम’को पनि उत्पादन गर्न लागिएको जानकारी दिए ।

लाइन्समेन मसरुमको बजारीकरणका लागि युरोप र युकेका सहरमा कम्पनी दर्ता गरेर प्रक्रिया अघि बढाइएको जानकारी दिँदै उनले बेमौसमी अवस्थामा पनि प्रतिदिन करिब २०० देखि २५० किलोसम्म र मौसममा प्रतिदिन ४०० किलोसम्म च्याउको उत्पादन हुने बताए ।

“लाइन्समेन च्याउको क्याप्सुल बनाएर बाहिर पठाउछौँ, बस्नेतले भने, “उत्पादित च्याउ हवाई जहाजमार्फत काठमाडौँ जाने गरेको छ । साथै दाङ, सुर्खेत, बुटवल, धनगढीका भाटभटेनी पसलमा सजिलै पाइन्छ । च्याउका लागि तापक्रम महत्त्वपूर्ण विषय हो । यसलाई १८ देखि २० डिग्री चिसो तापक्रम चाहिन्छ ।” सबै मिलाएर ५० टनको एसी प्रयोग भएको जानकारी दिँदै उनले यस बाहेक आद्रता व्यवस्थापन गर्न उपकरणको प्रयोग भएको बताए ।

अहिलेसम्म रु पाँच करोड लगानी भएको च्याउ खेतीमा भारतबाट अवैध रूपमा आउने च्याउ बजारीकरणको प्रमुख चुनौतीका रूपमा रहेको बस्नेतले बताए । “भन्सार छलेर आउने च्याउले हाम्रो बजारीकरणमा ठुलो समस्या आएको छ, यसले हामीजस्ता किसानलाई नोक्सान पुर्‍याइरहेको छ”, उनले भने ।

करिब एक बिघा जमिन निजी र एक बिघा बीस वर्षसम्मका लागि भाडामा लिएर खेती गरिरहेको बस्नेतले जानकारी दिए । भौतिक पूर्वाधारका काम आफ्नो जमिनमा निर्माण भएका भन्दै फार्मका लागि छ जना स्थायी जनशक्ति राखिएको उनले बताए ।

फार्मको कम्पोस्ट मल उत्पादनमा रु एक करोड मात्र लगानी भएको उल्लेख गर्दै कम्पोस्ट मलको कच्चापदार्थ महाकालीबाट ल्याउने गरेको जानकारी दिए । उनले नेपालमा पाइने जडीबुटीयुक्त च्याउको उत्पादन गरेर त्यसको क्याप्सुल र पाउडर बनाएर विदेश निर्यात गर्ने नयाँ सोच रहेको बताए । “यसका लागि मैले काम सुरु गरिरहेको छु अब कम्तीमा छ महिना लाग्ला”, उनले भने ।

आफूले कमाएको रकम कम्पनीमा लगानी गरेको जानकारी दिँदै बस्नेतले आफूसँगै अन्य दुई जना युवा कोसमेत सो फार्ममा लगानी रहेको बताए । कृषि ज्ञान केन्द्र बाँकेबाट बस्नेतले अहिलेसम्म करिब रु १६ लाख अनुदान पाएका छन् । च्याउ खेतीमा प्रयोग हुने उपकरण नेपालमा गुणस्तरीय नभएको भन्दै सबै उपकरण भारतबाट ल्याएको उनको भनाइ छ । उत्पादन भएको च्याउ रु २०० देखि रु दुई सय ५० प्रतिकिलोमा बिक्री भइरहेको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख विनोद घिमिरेले च्याउ खेतीमा युवा किसानले गरेको काम अनुकरणीय भएको उल्लेख गर्दै जिल्लाका केही किसानले सानो अनुदान सहयोगमा पनि ठुलो उपलब्धि हासिल गरेका बताए । जिल्ला समन्वय समितिकी उपप्रमुख सीता कार्कीले लोभलाग्दो च्याउ खेती भएको उल्लेख गर्दै किसानले देशभित्रै मेहनत गरे विदेश धाउन नपर्ने बताइन् । रासस





Comments

comments

132347