न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ११ अगस्ट । हङकङको विभिन्न सुपरमार्केटहरूमा कम्तिमा सात वटा कोका-कोला प्लस र ७-अप बोतलहरूमा आफ्नो पिसाब मिसाएर राखेको आरोपमा हङकङ प्रहरीले ६३ वर्षीय एक पुरुषलाई पक्राउ गरेको छ। यस घटनामा एक ९ वर्षीय बालकलाई अस्पताल भर्ना गर्नुपरेको थियो।
प्रहरीले सोमबार जानकारी दिएअनुसार, बेरोजगार आरोपीलाई शाम शुई पोमा शनिबार गिरफ्तार गरिएको थियो। उनलाई अरूलाई हानि पुर्याउने वा दुःख दिने उद्देश्यले हानिकारक पदार्थ प्रयोग गरेको आरोप लगाइएको छ, जसको लागि तीन वर्षसम्म कैद हुन सक्छ।
प्रहरीका अनुसार त्यस व्यक्तिले विगत एक वर्षमा शाम शुई पो, मोङ कोक र वान चाईका सुपरमार्केटहरूलाई लक्षित गरेको थियो।
आरोपीले सुपरमार्केट कर्मचारीहरूसँगको अप्रिय अनुभव, सम्भवतः झगडाको कारण बदला लिने उद्देश्यले यस्तो काम गरेको बताइएको छ। उनी विरुद्ध मंगलबार कोउलुन सिटी अदालतमा मुद्दा दायर हुने अपेक्षा गरिएको छ।
कोउलुन पश्चिम क्षेत्रीय अपराध इकाईका चिफ इन्स्पेक्टर याउ यू-सिङले प्रेस ब्रिफिङमा यि जानकारी दिएका हुन्।
यो घटना जुलाईको अन्त्यमा सामने आएको थियो जब एक ९ वर्षीय बालक सुपरमार्केटबाट किनेको पेय पदार्थ पिएपछि बिरामी परेको थियो।
याउका अनुसार, उनलाई उपचारको लागि अस्पताल लगिएको थियो र कुनै दीर्घकालीन लक्षण नदेखिएपछि सोही दिन डिस्चार्ज गरिएको थियो। अधिकांश दूषित पेय पदार्थहरू सुपरमार्केट कर्मचारीहरूले नियमित जाँचका क्रममा पत्ता लगाएका थिए।