अभिनेत्री बसुन्धरा भुषालसँगै सामूहिक तिजको दर खाए कोलोराडोका दिदीबहिनीहरूले..

नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। हिन्दु महिलाहरुको महान चाड तिज नजिकिँदै गर्दा कोलोराडो निवासी दिदीबहिनीहरुले वरिष्ठ अभिनेत्री बसुन्धरा भुषालको सहभागितामा सामूहिक रूपमा तिजको दर खाएका छन्।

प्रवासमा रहेका महिला दिदीबहिनीहरुलाई एक्लो भएको महसुस हुन नदिन र सबै दिदीबहिनी एकै ठाउँमा जम्मा भई सुख दुःख साटासाट गर्दै माइतीको झल्को मेटाउन सिस्टर्स ग्रुप (दिदीबहिनी समूह) कोलोराडोले आयोजना गरेको सामूहिक दर खाने कार्यक्रममा बसुन्धरा भुषालको सहभागिता भएको हो।

कोलोराडो स्थित वेस्टमिनिस्टर सिटीमा आइतबार साँझ ५ बजेदेखि राति १० बजेसम्म सञ्चालन भएको तिजको दर खाने कार्यक्रममा संघ संस्थाका प्रतिनिधि, बुद्धिजीवी, गण्यमान्य, समाजसेवी, व्यवसायी तथा नेपाली भाषी बुबाआमा, दिदीबहिनी दाजुभाइहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमको शुरुमा सिस्टर्स ग्रुप दिदीबहिनी समूहका अध्यक्ष धन पौडेलले उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्य बारे प्रकाश पारेकी थिइन्। त्यसैगरी उनले सयौं दिदीबहिनीहरूको माझ आजैको मितिदेखि संस्थाको उपाध्यक्ष शान्ति भुषाललाई अध्यक्षको कार्यभार हस्तान्तरण गरिएको घोषणा गरेकी थिइन्।

कार्यक्रममा नेपाली कलाकारिताको क्षेत्रमा ६ दशक भन्दा बढि निरन्तर सक्रिय रहेकी वरिष्ठ हास्य अभिनेत्री बसुन्धरा भुषाललाई कोलोराडोका सम्पूर्ण दिदीबहिनीहरूको तर्फबाट सिस्टर ग्रुपका पदाधिकारीहरूले ढाकाको पछ्यौरा ओढाई फूलका गुच्छा र सौभाग्यको सामग्री प्रदान गरी सम्मान गरेका थिए।

यसैगरी माइतीका तर्फबाट कोलोराडो नेपालीभाषी समुदायका अभिभावक नारायण श्रेष्ठ र उहाँको धर्मपत्नी सृजना श्रेष्ठले हिन्दु महिलाहरुको महान चाड तिजको उपलक्ष्यमा सबैलाई शुभकामना दिएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै अभिनेत्री भुषालले प्रवासमा रहेर पनि हाम्रो भाषा र संस्कृति जोगाई राख्न जम्मा हुनुभएका यति धेरै दिदीबहिनी बिच उपस्थित हुन पाउँदा ज्यादै खुशी लागेको भन्दै सबैलाई तिजको शुभकामना दिएकी थिइन्। उनले हाम्रो देश नेपालको पहिचान भनेको नै हाम्रो विविध भाषा र संस्कृति हो। यसलाई जगेर्नामात्र हाम्रो पहिचान रहने भएकोले यसलाई जोगाई राख्न सबैलाई आग्रह गरिन्।

दर खाने कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गर्न राफल चिट्टा समेत व्यवस्था गरिएको थियो। जसमा राफल चिट्टा प्राप्त गर्ने दिदीबहिनीहरूलाई साडी, श्रृङ्गारका सामग्री तथा नगद पुरस्कार प्रदान गरिएको थियो। त्यसैगरी कार्यक्रमलाई सफल बनाउन आर्थिक सहयोग गर्ने सहयोगी संघसंस्था तथा दाताहरूको नाम पढेर सुनाइएको थियो।

सिस्टर्स ग्रुप सन् २०१७ देखि कोलोराडोका दिदीबहिनीहरू संगठित भएर विभिन्न सामाजिक, सांस्कृतिक कार्यक्रमका लागि आवश्यकता अनुसार आर्थिक सहयोग संकलन र हस्तान्तरण तथा महिला हकहित जस्ता सामाजिक कार्यका लागि निरन्तर अग्रसर हुँदै आएको संस्था हो।

यसरी कार्यक्रममा उपस्थित दिदीबहिनीहरूले तिजका गीत गाउँदै, नाचगान गर्दै आफैले बनाएको सेलरोटी, दही लगायतका स्वादिष्ट भोजनहरू खाँदै एकआपसमा शुभकामना साटासाट गरी तिज मनाएका थिए।





Comments

comments

132515