कोरिया रिटर्नीहरुका लागि के-फुड तालिम सम्पन्न


रमेश खावाजु –

ईपीएस मार्फत नेपाल फर्केका कोरिया रिटर्नीहरुका लागि कोरियन संस्थाहरु कोइका (KOICA) तथा एचआरडी (HRDK) को संयुक्त आयोजनामा सञ्चालित सात दिने के-फूड तालिम सम्पन्न भएको छ।

धुम्बाराहीको हिमालयन हस्पिटालिटी एण्ड ट्रेनिङ सेन्टरमा श्रावण २६ गते सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि कोरिया गणतन्त्रका नेपालस्थित राजदूत पार्क ताए यङले तालिममा सहभागीहरूलाई बधाई तथा शुभकामना दिए। प्रमुख अतिथि पार्क ताए यङले कोरियाबाट फर्केका रिटर्नीहरूलाई व्यवहारिक के-फूड तालिमले सिकेको सीपलाई सुदृढ बनाउने र रोजगार वा उद्यमशीलताको सम्भावना बढाउने विश्वास व्यक्त गर्नुभयो।

त्यस्तै कोरियाको अन्तर्राष्ट्रिय सहयोग संस्था (कोइका) नेपालका निर्देशक कोङ मू–होनले के-फूड तालिम छोटो अवधिको भए पनि, यसले रिटर्नीहरूका लागि व्यावहारिक र दिगो आधार तयार गर्ने प्रारम्भिक मोडेलको काम गर्ने बताए। उहाँले कोइकाले नेपालसँग सहकार्य जारी राख्दै नेपाल फर्किएका आप्रवासीहरूको आत्मनिर्भरता र प्रगतिलाई निरन्तर समर्थन गर्ने पनि बताए।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको आन्तरिक रोजगार महाशाखा प्रमुख एवम् सहसचिव कृष्णप्रसाद सापकोटाले दक्षिण कोरियाबाट फर्केका युवा लक्षित साउन १९ देखि २६ गतेसम्म भएको के-फूड तालिमले नेपालको आन्तरिक रोजगार व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उहाँले यो तालिम नेपालका अन्य विभिन्न जिल्लाहरुमा पनि गर्नुपर्ने बताए।

४५ घण्टाको के-फुड तालिमको व्यवस्थापन सन् २०२२ देखि आप्रवासी कोरियन कामदारहरूलाई प्रस्थानपूर्व, विदेशमा रहँदा, र फर्किएपछिका सबै चरणमा सहयोग पुर्‍याउँदै आएका कोइकाको के-हामी (कोरिया ह्यापी माइग्रेशन) परियोजनाको पहलमा भएको हो।

के-हामीले कोरिया रिटर्नीहरूले के-फूड तालिम राम्रोसँग लिएर भविष्यमा नेपालमा राम्रो व्यवसायी बनी रोजगारको सिर्जना गरून् भन्ने उद्देश्यले यो तालिम दिइएको हो। के-हामीले के-फूड तालिमका लागि कोरियाका चर्चित २ जना मास्टर सेफहरू प्रशिक्षिका किम ही योन र प्रशिक्षक हा हिओनसुलाई नेपालमा बोलाएका थिए।

तालिममा के-फूडका मास्टर सेफहरूले किम्ची, बिबिम्पाप, कोरियन स्ट्यु र त्तेओक्बोकी जस्ता २० भन्दा बढी परिकारहरू सिकाएको तालिममा सहभागी सनम तामाङले बताइन्। त्यस्तै कोरियामा १० वर्ष बसेर सन् २०२० मा फर्केका तालिममा सहभागी दिनेश कायस्थले कोरियामा हुँदा इच्छा हुँदाहुँदै पनि व्यस्तताका कारण कोरियन परिकारहरू बनाउन सिक्न नपाएको बताए। उहाँले अहिले निकै उपयोगी कोरियन परिकारहरू बनाउन सिक्न पाउँदा निकै खुसी लागेको तथा निकट भविष्यमा चर्चित कोरियन परिकारको फास्ट फूड खोल्ने योजना रहेको बताए। कार्यक्रममा आठ महिला र सात पुरुष गरी १५ जनाको सहभागिता रहेको थियो।





Comments

comments

132512