‘पत्रकारितामा सत्य, निष्पक्षता र जिम्मेवारीको मान्यता कायम राख्नुपर्नेमा जोड’

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकको विविधता र सांस्कृतिक पहिचानलाई संरक्षण गर्दै पत्रकारितामा सत्य, निष्पक्षता र जिम्मेवारीको मान्यता कायम राख्नुपर्नेमा जोड दिएका छन् ।

मङ्गलबार यहाँ आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को २६औँ स्थापना दिवस तथा फोनिज अवार्ड–२०८२ मा मन्त्री गुरुङले आदिवासी पत्रकारिताले मुलुकको सञ्चार क्षेत्रमा ठूलो योगदान पुर्‍याएको चर्चा गरे ।

त्यस अवसरमा विशिष्ट अतिथि युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आदिवासी जनजातिको हकहित र अधिकारका सवालमा फोनिजले अझ गहिरो र प्रभावकारी अभियान चलाउनुपर्नेमा जोड दिए । उनले पत्रकारहरूले समुदायका आवाजलाई मुखरित गर्दै नीति निर्माण तहमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने भनाइ राखे ।

फोनिजका अध्यक्ष लक्की गुरुङले आदिवासी जनजातिसम्बन्धी विषयलाई सशक्त रूपमा अघि बढाउन महासङ्घ प्रतिबद्ध रहेको उल्लेख गरे । उनले आगामी दिनमा तालिम, गोष्ठी, अनुसन्धान र अन्तर्राष्ट्रिय मञ्चमा सहभागितामार्फत आदिवासी पत्रकारिताको दायरा अझ विस्तार गर्ने योजना रहेको सुनाए ।

पत्रकार सम्मानित
त्यस अवसरमा आदिवासी जनजाति मलेसिया पत्रकारिता पुरस्कार, २०८२ अन्तर्गत छापातर्फ सपना थामी र अनलाइनतर्फ ज्ञानेन्द्र तामाङलाई प्रदान गरियो । उक्त पुरस्कारको राशि जनही रु १० हजार थियो ।

रु २५ हजार राशिको आदिवासी जनजाति युके पत्रकारिता सम्मान तथा पुरस्कार, २०८२ अन्तर्गत छापातर्फ आश गुरुङलाई प्रदान गरियो । सोही विधामा टेलिभिजनतर्फ डोल्मा शेर्पालाई प्रदान गरियो ।

आदिवासी जनजाति बागमती पत्रकारिता पुरस्कार, २०८२ अन्तर्गत रेडियोतर्फ पूर्णबहादुर मगर (राप्ती एफएम, चितवन) लाई रु पाँच हजार ५५५ सहित सम्मानित गरियो । फोनिज राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मान, २०८२ अन्तर्गत कोचिला सामाद राजवंशी भाषाको त्रैमासिक पत्रिका, झापालाई प्रदान गरियो । पुरस्कारको राशि रु ३१ हजार थियो ।

फोनिज राष्ट्रिय प्रवास पत्रकारिता सम्मान, २०८२ अन्तर्गत मच्छेदेवी गुरुङ (अमेरिका), फोनिज राष्ट्रिय पत्रकारिता सम्मान, २०८२ अन्तर्गत अमरध्वज लामा (रेडियो नेपाल) ले प्राप्त गरे । सोही विधामा गजुर्धन राई (नेपाल टेलिभिजन) लाई प्रदान गरियो । पुरस्कारको राशि रु ३१ हजार थियो । साथै बन्दना दनुवार, मुनेश लायो मगर र सविन प्रियासनलाई जनही रु २५ हजारले सम्मान गरियो । रासस





Comments

comments

132522