काठमाडौँ । लोकप्रिय गायिका विष्णु माझीको तीज गीत ‘म त नराउरी’ सार्वजनिक भएको दुई दिनमा नै युट्युबमा २२ लाखभन्दा बढीपटक हेरिएको छ । तीज पर्वको छेको पारेर बुधबार सार्वजनिक भएको उक्त गीतमा १२ हजार बढीले प्रशंसायुक्त टिप्पणी गरेका छन् ।
तीज पर्वको परम्परा र मौलिकतालाई पछ्याएका कारण गायिका माझीको गीतलाई दर्शकस्रोताले रुचाएका हुन् । गत वर्ष पनि उनको तीज गीत ‘आइन आमा यो तीजमा’ ले सार्वजनिक भएको दुई दिन नबित्दै युट्युबमा ३० लाख बढी ‘भ्यूज’ बटुलेको थियो ।
माझीले विगत दुई दशकयता बर्सेनि तीज गीत सार्वजनिक गर्दै आएकी छिन्। कतिपयले त विष्णु माझीको गीत आएपछि बल्ल तीज आएको आभास दिने गरेको टिप्पणीसमेत गर्छन् । तीजमात्र नभएर उहाँका हरेक लोकदोहोरी गीत सफल छन् ।
सुन्दरमणि अधिकारीको रचना र सङ्गीत रहेको गीत ‘म त नराउरी’ मा लैङ्गिक असमानताले निम्ताएको नारी बेदनालाई उठान गरिएको छ । गीतमा कुनै बेला नेपाली समाजमा व्याप्त छोरा र छोरीबीचको विभेदको मर्मस्पर्शी कथा छ । गीतले भन्छ–
‘दाइ र भाइले पिपलगेडी खाको
मैले छाम्दा गोजी रित्तै भाको’
गीतको म्युजिक भिडियोमा ललिता पौडेललगायत कलाकारको अभिनय रहेको छ । विगत केही वर्षदेखि कतिपय तीज गीत विवादमा तानिँदै आएकामा गायिका माझीको गीतले भने तीज गीतको मूल मर्मलाई पक्डेको छ । महिलाको संवेदना र मनोविज्ञान गीतमा मुखरित भएको छ । गीतमा मौलिकताको झझल्को छ ।
चर्चित गायक प्रकाश सपुतको रचना र सङ्गीतमा केही दिनअघि युट्युबमा सार्वजनिक तीज गीत ‘नाइँ भनेसी नाइँ’लाई पनि हालसम्म झण्डै दश लाख पटक हेरिएको छ । गायिका समीक्षा अधिकारी र एलिना चौहानद्वारा स्वरबद्ध उक्त गीतमा पनि महिला अधिकार र सशक्तीकरणको मुद्दा उठाइएको छ । महिलामाथि हुने हिंसा र अत्याचारविरुद्ध सपुतले आफ्नो सृजनालाई केन्द्रित गरेका छन् । गायक सपुतले यसअघि ल्याएको तीज गीत ‘बदला बरिलै।’ र ‘कुरा बुझ्न पर्छ’ ले पनि चर्चा पाएको थियो ।
गायक पशुपति शर्मा र टीका पुनले गाएको तीज गीत ‘लाइटै बालेर हेर मायाले’ लाई पनि दर्शक/स्रोताले साथ दिएका छन् । चार साताअघि ‘पशुपति शर्मा’ युट्युब च्यानलबाट सार्वजनिक उक्त गीतलाई हालसम्म १२ लाखभन्दा बढीपटक हेरिएको छ । गायक शर्माकै शब्द र सङ्गीतमा तयार भएको उक्त गीतको म्युजिक भिडियोमा पनि शर्मा र कलाकार कुञ्जना घिमिरेको अभिनय रहेको छ । गीतमा मायाप्रेमको विषय छ ।
तीज पर्व नजिकिँदै जाँदा यसरी नै युट्युबबाट तीज गीत सार्वजनिक भइरहेका छन् । बर्सेनि तीज आउँदा यस्ता गीत निकाल्ने लहरै चल्छ । तीजको याम सुरू भएपछि कलाकारले अरु विधाका गीतलाई थाँती राख्छन् । तीज गीतले सधैँ चलिरहने लोकदोहोरीलाई पनि ओझेलमा पारिदिन्छ । तीज आउन अब दुई सातामात्र बाँकी छ । तीज गीतले युट्युबमा प्रवेश पाएको भने गत असारदेखि नै हो ।
अनेक विषय, भाव र बान्कीका तीज गीतले पर्वमय माहोलको छनक दिएका छन् । अधिक गीतमा प्रेम र सौन्दर्यको चर्चा छ । कतै श्रीमान्श्रीमती त कहीँ प्रेमीप्रेमिका बीचको मायावी संवाद गीतमा सुन्न पाइन्छ । कतै महिला अधिकार र मुक्तिको आवाज मुखरित भइरहेको छभने कतै नारी बेदनाका स्वर गुञ्जिइरहेका छन् । मनछुने भाका, शब्द र सुरिलो गायकीले कतिपय तीज गीतलाई सरल र श्रुतिमय बनाएको छ । कतिपय गीत सृजनशीलता र मौलिकताको कसीमा औसत स्थानमा छन् ।
पर्व गीतको उपमा पाएको तीज गीतलाई कतिपय कलाकारले त्यसको मूल प्रवृत्तिबाट विमुख पारेको भन्दै चिन्ता पनि व्यक्त हुँदै आएको छ । पहिलेका तीज गीत घटनाप्रद, युग सुहाउँदो, चेतना जागृत गर्ने र समसामयिक विषयवस्तुमा केन्द्रित हुन्थे । खासगरी महिलाले तीज गीतलाई वर्षभरिका दुःख, पीरवेदना र चोट सार्वजनिक गर्ने माध्यम बनाउँथे । महिला मुक्तिको आवाज पनि तीज गीतमा उठ्थ्यो ।
अहिलेका तीज गीतमा भने मायाप्रेमको मुद्दा बढी मुखरित भएको पाइन्छ । कलाकार भने आधुनिक समाज विकाससँगै मानवीय अभिरुचि र प्रविधिमा आएको फड्कोलाई स्वीकारेर अगाडि बढ्नुको विकल्प नभएको टिप्पणी गर्छन् । केही वर्षअघि तीज गीतलाई लिएर राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले केही गायकगायिकालाई प्रतिबन्ध लगाउनेसम्मको अवस्था सृजना भएको थियो । गत वर्ष पनि दर्जन बढी तीज गीत विवादमा मुछिएका थिए । केही गायकगायिकाले त्यस किसिमका गीत गाएकामा क्षमासमेत माग्नुपरेको थियो ।
वरिष्ठ लोकगायिका हरिदेवी कोइराला तीज गीतमा महिलाले आफूले झेल्नुपरेका सामाजिक बन्धन, पारिवारिक अन्याय, अत्याचार आदि समेटिनुपर्ने मान्यता राख्छिन् । अन्धविश्वास र विसङ्गतपूर्ण व्यवहार तोडेर समानतामूलक समाज निर्माणका लागि तीज गीत सहयोगी बन्नुपर्ने उनको बुझाइ छ । पौराणिककालदेखि नै तीज पर्व र गीतको बयान हुँदै आएको भन्दै गायिका कोइरालाले तीज गीतले विशेषगरी महिला अधिकार र मुक्तिको आवाज मुखरित गर्नुपर्ने धारणा राख्छिन्। रासस