न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १६ अगस्ट। ट्युन मुनको लेउङ किङ प्लाजामा शुक्रबार एक पसलेलाई निर्मम हमलापछि रगताम्य छोडिएको थियो। १७ वर्षीय पाकिस्तानी मूलको एक स्थानीय युवकले गरेको यो आक्रमणपछि उनी भागेका थिए, जसलाई सीसीटीभी फुटेजले कैद गरेको थियो। प्रहरीले उक्त आरोपीलाई सोही दिन साँझ पक्राउ गरेको छ।
बिहीबार उक्त युवाले फोन कार्ड किन्न पसलमा गएका थिए तर रजिस्ट्रेशन प्रक्रियामा समस्या आएपछि रिसाएका थिए। कार्डको पैसा तिरिसकेको भए पनि समस्या समाधान नहुँदा ३६ वर्षीय पसल कर्मचारी लेउङसँग विवाद भएको थियो।
आज अनलाइनमा प्रकाशित भिडियोमा माक्स लगाएको किशोर छुरी र हथौडा लिएर पसलमा प्रवेश गरेको देखिन्छ। उसले शीशा फुटाएपछि ग्राहकहरू भागेका थिए। त्यसपछि उसले लेउङलाई छुरीले कैयौं पटक हानेर गम्भीर घाइते बनाएका थिए।
आक्रमणपछि आरोपीले पसलबाट नगद लुटेर भागेका थिए। घटनापछि प्रहरीले लेउङ किङ एस्टेटमा रहेको पसलमा पुगेर अनुसन्धान गरेको थियो। पाकिस्तानी मूलको हङकङ आइडी कार्ड भएको १७ वर्षीय आरोपीलाई लेउङ शुई हाउस, लेउङ किङ एस्टेटबाट पक्राउ गरिएको छ।
घाइते लेउङको हात, छाती र खुट्टामा चोट लागेको छ र उनलाई ट्युन मुन अस्पतालमा भर्ना गरिएको छ। अनलाइनमा प्रकाशित तस्विरहरूमा पसल रगताम्य अवस्थामा रहेको दृश्य देखिन्छ।