‘मेरो डान्स र मेरो भ्वाइस युनिभर्स’ को उपाधि हङकङकी रिस्ता गुरुङ र जापानका प्रथम गुरुङलाई..!

हङकङकी रिस्ता गुरुङ

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २४ अगस्ट। “मेरो डान्स युनिभर्स सिजन २” को प्रतिष्ठित उपाधि हङकङकी रिस्ता गुरुङले जितेकी छिन्, त्यसैगरी “मेरो भ्वाइस युनिभर्स सिजन २” को उपाधि जापानका प्रथम गुरुङले हात पारेका छन्।

इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्टद्वारा शनिवार ललितपुरको सनराइज सम्मेलन केन्द्र गोदावारीमा आयोजित भव्य समारोहमा दुवै गुरुङविजेताले जनही एक करोड रुपैयाँको पुरस्कार हात पारे। उनीहरुले रु २५ लाख बराबरको जीवन बिमा, हवाई टिकटका साथमा विभिन्न पुस्कार प्राप्त गरे।

पोखरा घर भएकी रिस्ता गुरुङले हङकङबाट प्रतियोगितामा सहभागिता जनाएकी थिइन्। उनको आकर्षक र अद्वितीय नृत्य शैलीले निर्णायक र दर्शक दुवैलाई मन्त्रमुग्ध पारेको थियो। हङकङका नेपाली समुदायको भरपूर समर्थन पाएकी रिस्ताले कडा प्रतिस्पर्धामा अन्य प्रतिभाशाली प्रतिस्पर्धीहरूलाई पछाडि पार्दै यो गौरवशाली उपाधि जित्न सफल भइन्।

मेरो डान्स युनिभर्सकी फस्ट रनरअप भई अमृता राईले रु २५ लाख नगदसहित सिटिजन्स लाइफबाट रु २० लाखबराबरको जीवन बिमा प्राप्त गरेकी छन्। सेकेन्ड रनरअप भई सीतु महर्जनले रु १० लाखसहित सिटिजन्स लाइफबाट रु १५ लाखबराबरको जीवन बिमा प्राप्त गरेकी छन्। थर्ड रनरअप सुरज सिंजाली मगरले रु छ लाख नगदसहित सिटिजन्स लाइफबाट रु १० लाखबराबरको जीवन बिमा तथा फोर्थ रनरअप सुशना कोइरालाले रु पाँच लाख नगद, सिटिजन्स लाइफबाट रु १० लाखबराबरको जीवन बिमा प्राप्त गरेका छन्। फिप्थ रनरअफ साजन पाख्रिन तामाङले नगद रु चार लाख र सिटिजन्स लाइफबाट रु १० लाखबराबरको जीवन बिमा प्राप्त गरेका छन्।

हङकङका टोपराज तामाङ र जापानका प्रथम गुरुङ

“मेरो भ्वाइस युनिभर्स सिजन २” मा हङकङका टोपराज तामाङले पनि उत्कृष्ट प्रदर्शन गरेका थिए। हङकङका नेपालीहरूबाट अत्यधिक मत र समर्थन पाएका टोपराज तामाङ प्रथम उपविजेता (फस्ट रनरअप) बन्दै २५ लाख रुपैयाँ पुरस्कार जित्न सफल भए। तामाङले नगदसहित रु २० लाखबराबरको जीवन बिमा तथा सेकेन्ड रनरअप जुनु प्रसाईँले रु १० लाख र १५ लाखबराबरको जीवन बिमा प्राप्त गरेका छन्।

टोपराज तामाङ

थर्ड रनरअप वाङ्गे गुरुङले रु छ लाख र सिटिजन्स लाइफबाट रु १० लाखबराबरको जीवन बिमा, फोर्थ रनरअप प्रशान्त पोखरेलले रु पाँच लाख नगद, रु १० लाखबराबरको बिमा तथा फिप्थ रनरअप दीपराज राईले नगद रु चार लाख तथा सिटिजन्स लाइफबाट रु १० लाखबराबरको बिमा प्राप्त गरेका छन्।

रिस्ता गुरुङ

कल्चरल ग्रुप डान्स प्रतिस्पर्धामा भुटनिज रेफुजी डान्स ग्रुपले विजेता भई रु २५ लाख र गिफ्ट ह्याम्पर प्राप्त गरेको छ भने फस्ट रनरअप कल्चरल ग्रुप डान्समा मनास्लु वर्ड कलेजले रु १५ लाख प्राप्त गरेको छ।

त्यसैगरी, युमा महारानी नृत्य समूह सेकेन्ड रनरअप हुन सफल भइ रु १० लाख प्राप्त गरेको छ । थर्ड रनरअप भएर नेपाल प्रहरीले रु पाँच लाख प्राप्त गरेको छ भने सामूहिक नृत्यतर्फ तरेली सांस्कृतिक ग्रुपले फोर्थ अनरअप भई रु तीन लाख पुरस्कार प्राप्त गरेको छ।

विजेतालाई सभामुख देवराज घिमिरे, गृहमन्त्री रमेश लेखक, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलगायतले पुरस्कार तथा ट्रफी प्रदान गरेका थिए।





Comments

comments

132677