सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेन जीको माइतीघरमा प्रदर्शन..

काठमाडौँ, जेन जी (Generation Z) का हजारौँ युवाहरूले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा गर्न, भ्रष्टाचारको अन्त्य र सुशासनको माग राख्दै सोमबार माइतीघर मण्डलामा प्रदर्शन सुरु गरेका छन्।

बिहानैदेखि माइतीघर मण्डलामा भेला भएका युवाहरूले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न, भ्रष्टाचारको अन्त्य गर्न र सुशासन कायम गर्न माग गर्दै नाराबाजी गरेका छन्। प्रदर्शनकारीहरूले ‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘कता हिंडेको ट्याक्स लुटेर ?’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, स्टप करप्सन (भ्रष्टाचार रोक) जस्ता नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेर सडकमा उत्रिएका छन्।

प्रदर्शनमा सहभागी एक युवाले भने, “सामाजिक सञ्जाल हाम्रो अभिव्यक्ति स्वतन्त्रताको माध्यम हो। यसलाई नियन्त्रण गर्नु भनेको हाम्रो आवाज दबाउनु हो। हामी भ्रष्टाचार र कुशासनविरुद्ध लड्न यहाँ आएका छौँ।”

प्रदर्शनकारीहरूले सरकारले हालै प्रस्तुत गरेको सामाजिक सञ्जाल विधेयक २०८१ र मिडिया काउन्सिल विधेयक २०८० ले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने भन्दै ती विधेयकहरू फिर्ता लिनुपर्ने माग गरेका छन्। उनीहरूले यी विधेयकहरू प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्यमान्यताविपरीत रहेको दाबी गरेका छन्।

प्रदर्शनका क्रममा माइतीघर मण्डलामा बबरमहलबाट र्‍यालीसहित युवाहरूको ठूलो समूह उपस्थित भएको थियो। प्रदर्शनमा पत्रकार, नागरिक समाजका प्रतिनिधि र विभिन्न पेशागत संघ–संस्थाका व्यक्तिहरूको पनि सहभागिता रहेको छ।

प्रहरीले प्रदर्शनलाई नियन्त्रण गर्न माइतीघर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ। प्रदर्शनकारीहरूले भने शान्तिपूर्ण रूपमा आफ्ना मागहरू राख्ने र आन्दोलनलाई निरन्तरता दिने बताएका छन्।

यसअघि पनि माइतीघर मण्डलामा सामाजिक सञ्जाल र मिडिया काउन्सिल विधेयकविरुद्ध प्रेस सेन्टर नेपाललगायतका संघ–संस्थाले प्रदर्शन गरेका थिए। जेन जीको यो प्रदर्शनले सरकारमाथि थप दबाब सिर्जना गर्ने अपेक्षा गरिएको छ।





Comments

comments

132957