काठमाडौं, २३ भदौ। जेनजीको उग्र प्रदर्शनका क्रममा प्रहरीको गोली र झडपका कारण मृत्यु हुनेको संख्या १९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट प्राप्त विवरणका आधारमा मृतकको संख्या १९ पुगेको पुष्टि गरेको छ।
मन्त्रालयका अनुसार काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा ८ जना, सिभिल अस्पतालमा ३ जना, एभरेस्ट अस्पतालमा ३ जना, काठमाडौं मेडिकल कलेज (केएमसी) मा २ जना, त्रिवि शिक्षण अस्पतालमा १ जना र बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको छ।
यस्तै, देशभरका विभिन्न अस्पतालमा ३४७ जना घाइते उपचाररत छन्। घाइतेहरूको सिभिल, एभरेस्ट, त्रिवि शिक्षण अस्पताल, केएमसी, बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका अस्पतालमा उपचार भइरहेको छ।
नयाँ बानेश्वरमा जेनजी प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्दै संघीय संसद् भवनभित्र प्रवेश गर्ने प्रयास गर्दा प्रहरीसँग तीव्र झडप भएको थियो। प्रहरीले प्रदर्शन नियन्त्रण गर्न पानीको फोहरा, अश्रुग्यास र गोली प्रयोग गरेको थियो। प्रदर्शनकारीहरूले संसद् भवनको गेटमा आगो लगाएपछि स्थिति थप जटिल बनेको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बानेश्वर क्षेत्रमा दिउँसो १२:३० बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ। कर्फ्यू क्षेत्र नयाँ बानेश्वर चोकदेखि पश्चिम एभरेस्ट होटल हुँदै बिजुली बजारसम्म, पूर्वतर्फ मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, उत्तरतर्फ आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र दक्षिणतर्फ शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म तोकिएको छ।
जेनजी समूहले आन्दोलनमा घुसपैठ भएको दाबी गर्दै प्रदर्शनकारीहरूलाई सुरक्षित घर फर्कन आह्वान गरेको छ।
प्रशासनले कर्फ्यूको कडाइका साथ पालना गर्न र शान्ति कायम राख्न सर्वसाधारणसँग आग्रह गरेको छ।