काठमाडौं, २३ भदौ २०८२ – नयाँ बानेश्वर क्षेत्रमा जेनजी प्रदर्शनकारीहरूको आन्दोलन उग्र बन्दै गएपछि प्रहरीले रबर गोली प्रहार गरेको छ। प्रदर्शनकारीहरूले प्रहरीको सुरक्षा घेरा तोड्दै संघीय संसद् भवनभित्र प्रवेश गरेपछि स्थिति तनावग्रस्त बनेको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार दिउँसो १२:३० बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ। कर्फ्यू नयाँ बानेश्वर चोकदेखि पश्चिम एभरेस्ट होटल हुँदै बिजुली बजारसम्म, पूर्वतर्फ मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, उत्तरतर्फ आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र दक्षिणतर्फ शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म लागू गरिएको छ।
प्रहरीले प्रदर्शन नियन्त्रण गर्न पानीको फोहरा र लाठीचार्जको प्रयोग गरे पनि प्रदर्शनकारीहरू पछि नहटेपछि रबर गोली चलाउनुपरेको प्रहरी स्रोतले जनाएको छ। नयाँ बानेश्वर क्षेत्र पूर्ण रूपमा तनावग्रस्त बनेको छ।
प्रशासनले कर्फ्यूको पूर्ण पालना गर्न र शान्ति कायम राख्न सर्वसाधारणसँग आग्रह गरेको छ। स्थिति नियन्त्रणका लागि प्रहरीले थप सुरक्षा बल परिचालन गरेको छ।