जेनजी प्रदर्शन: गगन थापासहित थुप्रै नेताहरुको निवास र पार्टी कार्यालयमा आगजनी तथा तोडफोड..

काठमाडौं, २४ भदौ २०८२ – नेपालमा जेनजी पुस्ताको प्रदर्शनका क्रममा विभिन्न नेताहरूको निवास र पार्टी कार्यालयहरूमा आगजनी र तोडफोडका घटनाहरू व्यापक रूपमा बढेका छन्। भ्रष्टाचार, अव्यवस्था, र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्धको आन्दोलनले हिंसात्मक रूप लिएपछि देशका विभिन्न स्थानमा तनावको स्थिति सिर्जना भएको छ।

प्रमुख घटनाहरू:

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको निवासमा आगजनी
रातोपुलस्थित नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।

– नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा तोडफोड

बूढानीलकण्ठस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा प्रदर्शनकारीहरूले मुख्य गेट फुटाएर भित्र प्रवेश गरी तोडफोड गरेका छन्। प्रदर्शनकारीहरूले ढुंगामुढा प्रहार गर्दै घरमा क्षति पुर्‍याएका छन्।

– माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवासमा आगजनी र तोडफोड

ललितपुरको खुमलटारस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा प्रदर्शनकारीहरूले ढुंगामुढा प्रहार गरेर तोडफोड गर्नुका साथै आगजनीको प्रयास गरेका छन्। प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ।

– निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा आगजनीको प्रयास

नख्खु, नैकापस्थित निवर्तमान गृहमन्त्री रमेश लेखकको निवासमा प्रदर्शनकारीहरूले तोडफोड गर्नुका साथै आगजनीको प्रयास गरेका छन्। ललितपुरका प्रहरी प्रवक्ता चक्रराज जोशीका अनुसार आगो नियन्त्रणमा आइसकेको छ।

– सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको निवासमा आगजनी

ललितपुरको सुनाकोठीस्थित सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङको निवासमा प्रदर्शनकारीहरूले ढुंगामुढा प्रहार र आगजनी गरेका छन्। प्रहरीका अनुसार आगो नियन्त्रणमा लिइएको छ।

– प्रधानमन्त्री केपी शर्मा ओलीको निवास नजिकै झडप

बालकोटस्थित नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवास नजिकै प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। झडपका क्रममा प्रहरीको गोली लागेर एक जना घाइते भएका छन्।

– राष्ट्रपतिको निजी निवासमा आगजनी

बोहराटारस्थित राष्ट्रपतिको निजी निवासमा प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेका छन्।

पार्टी कार्यालयहरूमा आगजनी र तोडफोड
– झापाको बिर्तामोडस्थित नेकपा एमालेको पार्टी कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका छन्।
– ललितपुरको च्यासलस्थित एमाले कार्यालयमा पनि तोडफोड र आगजनी भएको छ।
– अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी कार्यालयमा युवाहरूले तोडफोड गरेका छन्।
– पर्सास्थित नेपाली कांग्रेस र नेकपा एमालेको पार्टी कार्यालयमा पनि आगजनी र तोडफोडका घटना भएका छन्।

– युलेन्स स्कूलमा आगजनी

ललितपुरको खुमलटारस्थित युलेन्स स्कूलमा मंगलबार बिहान प्रदर्शनकारीहरूले आगजनी गरेका छन्। उक्त स्कूलको अध्यक्ष परराष्ट्रमन्त्री आरजु राणा देउवा रहेकी छन्।

– कीर्तिपुर नगरपालिकामा आगजनी

कीर्तिपुर नगरपालिका भवनमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।

– जनकपुरधाममा नेता महासेठको घरमा ढुंगामुढा

जनकपुरधाम उपमहानगरपालिका-९ भरमपुरीस्थित नेता महासेठको घरमा प्रदर्शनकारीहरूले ढुंगामुढा प्रहार गरेका छन्।

नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री लिलानाथ श्रेष्ठको सिराहास्थित घरमा प्रदर्शनकारीले आगजनी गरेका छन्। मंगलबार सिराहाको गोलबजार नगरपालिकामा रहेको उनको निवासमा आगो लगाइएको हो।





Comments

comments

132994