काठमाडौं, भदौ २५, २०८२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मंगलबार दिउँसो प्रदर्शनकारीहरूले नख्खु कारागारबाट बाहिर निकालेका छन्। सहकारी बचत अपचलन मुद्दामा जेलमा रहेका लामिछानेलाई प्रदर्शनकारीको दबाबपछि कारागार प्रशासनले रिहा गरेको हो।
नख्खु जेलका प्रमुख सत्यराज जोशीले प्रदर्शनकारीहरूले ढुंगा मुढा गरेको र कारागारमा रहेका अन्य कैदीहरूको सुरक्षालाई ध्यानमा राख्दै लामिछानेलाई छाडिएको बताए। “हामीले कारागारको सुरक्षा र अन्य कैदीहरूको सुरक्षाका लागि यो कदम चाल्नुपर्यो,” जोशीले भने।
जेलबाट निस्किएपछि लामिछानेले समर्थकहरूमाझ भाषण गरेका थिए। उक्त भाषणको भिडियो रास्वपाका केन्द्रीय सदस्य क्रान्तिशिखा धितालले सामाजिक सञ्जालमा साझा गरेकी छन्। भिडियोमा लामिछानेले आफ्ना समर्थकहरूलाई धन्यवाद दिँदै न्यायका लागि लडाइँ जारी राख्ने बताएका छन्।