नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा..

 

काठमाडौं, २४ भदौ २०८२ – नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्। उनले मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा पत्र बुझाएका हुन्।

प्रधानमन्त्री ओलीले देशमा उत्पन्न असामान्य परिस्थितिलाई मध्यनजर गर्दै संविधानसम्मत राजनीतिक निकास र समस्याको समाधानका लागि आफूले राजीनामा दिएको उल्लेख गरेका छन्। उनले राजीनामा पत्रमा लेखेका छन्, “मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकासका र समस्या समाधनको थप पहलको लागि संविधानको धारा ७७ (१) क बमोजिम आजैका मितिदेखि लागु हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु।”

देशभर भइरहेका हिंसात्मक प्रदर्शन र युवा आन्दोलनको दबाबका कारण उनको सरकारमाथि ठूलो दबाब परेको थियो। सोमबारदेखि काठमाडौंलगायत विभिन्न शहरहरूमा भइरहेको ‘जेनजी’ आन्दोलनले सरकारविरुद्ध व्यापक प्रदर्शन गरेको थियो। यी प्रदर्शनहरूमा भ्रष्टाचार र बेथितिविरुद्ध नाराबाजी भएको र केही स्थानमा हिंसात्मक घटनाहरू समेत भएका थिए।

सोमबारको प्रदर्शनमा १९ जनाको मृत्यु भएको र सयौं घाइते भएको घटनाले सरकारमाथि थप दबाब बढाएको थियो। यस्तै, वालुवाटारस्थित प्रधानमन्त्री निवासमा आगजनी र तोडफोडका घटनाहरू पनि भएका थिए। यी घटनाहरूले सुरक्षा निकायलाई समेत नियन्त्रणमा लिन कठिनाइ भएको थियो।

प्रधानमन्त्री ओलीको राजीनामापछि देशको राजनीतिक अवस्था थप जटिल बन्ने देखिएको छ। प्रमुख प्रतिपक्षी दलहरूले समेत उनको राजीनामाको माग गर्दै आएका थिए। नेकपा माओवादी केन्द्रले सोमबारको हिंसालाई “इतिहासकै क्रूर नरसंहार” भन्दै ओलीको राजीनामा माग गरेको थियो।

राजीनामापछि ओलीले तत्कालका लागि कुनै सार्वजनिक टिप्पणी गरेका छैनन्। यद्यपि, स्रोतहरूका अनुसार उनी स्वास्थ्य उपचारको बहानामा दुबई जाने तयारीमा रहेको बताइएको छ।

अब राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका लागि संवैधानिक प्रक्रिया अगाडि बढाउने अपेक्षा गरिएको छ। देशभरका प्रदर्शनकारीहरूले भने सरकारको दमनकारी नीतिविरुद्ध आफ्नो आन्दोलनलाई निरन्तरता दिने बताएका छन्।





Comments

comments

133018