काठमाडौं, २५ भदौ २०८२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै प्रतिनिधिसभा सदस्यहरूले सामूहिक राजीनामा दिएका छन्। जेनजीको आन्दोलनलाई समर्थन गर्दै रास्वपाका सांसदहरूले यो कदम चालेको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।
परियारका अनुसार, वर्तमान राजनीतिक अवस्था र जनताको मागलाई सम्बोधन गर्न यो निर्णय लिइएको हो। रास्वपाले सरकारसँग विभिन्न मागहरू राख्दै तत्काल कार्यान्वयनको माग गरेको छ।
रास्वपाका मागहरू:
१. प्रधानमन्त्रीको तत्काल राजीनामा
२. घटनाको निष्पक्ष छानविनका लागि उच्चस्तरीय न्यायिक छानविन आयोग गठन
३. सर्वपक्षीय नागरिक सरकारको स्थापना
४. प्रधानमन्त्री, गृहमन्त्री, सञ्चारमन्त्री र काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बर्खास्त गरी हिरासतमा लिई दोषीमाथि कडा कारबाही
५. संविधान संशोधन प्रक्रिया तत्काल सुरु
६. ठूला भ्रष्टाचारका काण्डहरूको छानविनका लागि अधिकार सम्पन्न आयोग गठन
रास्वपाले यी मागहरू पूरा नभएमा थप कडा कदम चाल्ने चेतावनी दिएको छ। जेनजी आन्दोलनले उठाएका मुद्दाहरूलाई समर्थन गर्दै रास्वपाले जनताको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गरेको छ।