कोलोराडोको बोल्डरमा कुमारी रथ तान्दै इन्द्रजात्रा भव्यताका साथ सम्पन्न

नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। नेवाः समुदायको बाक्लो बसोबास रहेको कोलोराडोमा धर्म, संस्कृति संरक्षण तथा पहिचान गर्ने उद्देश्यले आयोजित इन्द्रजात्रा भव्यताका साथ सम्पन्न भएको छ।

कोलोराडो नेवाः खलःको आयोजनामा नेवाः समुदायले मनाउने येंयाः (इन्द्रजात्रा) बोल्डर शहरको बेन्डसेलमा आइतबार कुमारीको रथ तान्दै, पुलुकिसी नाच, धिमे बाजा, धिमे नाच, लाखे नाच तथा विभिन्न नेवाः सांस्कृतिक नृत्यसहित भव्य रूपमा सम्पन्न भएको हो।

इन्द्रजात्रा गणेश, कुमारी र आकाश भैरवको विधिपूर्वक पूजा-अर्चना गरी सुरु गरिएको थियो। रथयात्रा कार्यक्रमको प्रमुख अतिथि बोल्डरकी डेपुटी मेयर लरेन फोल्कर्ट्सले कुमारी रथमा अंकित भैरवलाई फूलमाला लगाएर कार्यक्रमको शुभारम्भ गरेकी थिइन्।

कार्यक्रममा स्थानीय संघ-संस्थाका पदाधिकारी, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, कलाकार, पत्रकार, नेपाली भाषी बाबु-आमा, दाजुभाइ, दिदीबहिनीहरूको बाक्लो उपस्थिति थियो। कार्यक्रममा सहभागी अधिकांश दाजुभाइ, दिदीबहिनीहरू नेवाः समुदायको परम्परागत पहिरनमा सजिएर उपस्थित थिए। कार्यक्रम हेर्दा बसन्तपुर डबलीमा बसेर कार्यक्रम हेरेजस्तो अनुभव हुन्थ्यो। कार्यक्रममा प्रमुख अतिथि डेपुटी मेयर लरेन फोल्कर्ट्स र हेल्पिङ ह्याण्डका अध्यक्ष नारायण श्रेष्ठले शुभकामना मन्तव्य दिएका थिए।

दिउँसो १२ बजेदेखि ४ बजेसम्म सञ्चालित कार्यक्रम अतिशा बज्राचार्य र सबिता श्रेष्ठले संयुक्त रूपमा सञ्चालन गरेका थिए। कार्यक्रमको अन्त्यमा सहभागी सबैलाई प्रसादस्वरूप समायबजी वितरण गरिएको थियो।

इन्द्रजात्रा काठमाडौं, भक्तपुर, ललितपुरलगायत नेवाः समुदायको बस्ती रहेका स्थानमा इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा मनाइने जात्रा हो। यो जात्रा भाद्र शुक्लपक्ष द्वादशीका दिन सुरु भई मंगल चौथीसम्म आठ दिन विभिन्न नाच, गान र रथयात्रासहित सम्पन्न गरिन्छ।

यस अवसरमा हनुमानढोका लगायतका क्षेत्रमा जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा गर्ने परम्परा छ। काठमाडौंमा मजिपा लाखे नाच तथा इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी प्रदर्शन गरिन्छ भने भक्तपुरमा महाकाली नाच र दश अवतार नाच प्रदर्शन गर्ने गरिन्छ।





Comments

comments

133042