कोलोराडोमा जेनजी पुस्ताको आन्दोलनमा मारिएका युवाको सम्झनामा दीप प्रज्वलन तथा शोकसभा सम्पन्न

–

नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। नेपालमा शान्तिपूर्ण आन्दोलनका क्रममा ज्यान गुमाएका जेनजी युवाको सम्झनामा कोलोराडोमा दीप प्रज्वलन तथा शोकसभा सम्पन्न भएको छ।

–

एनआरएनए कोलोराडो च्याप्टरको आयोजना तथा स्थानीय संघसंस्था र नेपालीभाषी समुदायका जेनजी पुस्ताका युवायुवतीहरूको उल्लेखनीय सहभागितामा दीप प्रज्वलन तथा शोकसभा सम्पन्न भएको हो।

नेपाली सांस्कृतिक केन्द्र नेपाली घरको प्राङ्गणमा आयोजित कार्यक्रम साँझ ७:३० बजेपछि सुरु भएको थियो। कार्यक्रमको सुरुमा दिवंगत युवाहरूको सम्झनामा एक मिनेट मौनधारण गरी अगाडि बढाइएको कार्यक्रममा एनआरएनए कोलोराडो च्याप्टरका पदाधिकारी, एनआरएनए एनसीसीका पदाधिकारी, स्थानीय संघसंस्थाका पदाधिकारी र जेनजीहरूले शोक मन्तव्य राखेका थिए। उनीहरूले निर्दोष युवाहरूको बलिदानलाई सम्मान गर्दै आत्माको चिरशान्तिका लागि दीप प्रज्वलन तथा शोकसभा कार्यक्रम आयोजना गरिएको बताएका थिए।

–

विशेषगरी जेनजीहरूले यस बलिदानले भ्रष्टाचार र दमनविरुद्ध नेपाली युवाको संघर्षलाई अझ सशक्त बनाएको र हजुरबुबा पुस्ताका भ्रष्टाचारीहरूबाट देशले मुक्ति खोजेको बताएका थिए।

–

अमेरिकामा यस्तै किसिमका कार्यक्रम कोलोराडोको नेपाली सांस्कृतिक केन्द्र भवन वेस्टमिन्स्टर, कोलोराडो स्प्रिङ्समा मात्र होइन, अमेरिकाका धेरैजसो राज्यका विभिन्न शहरमा नेपाली समुदायले आयोजना गरिरहेका छन्।

–




Comments

comments

133045