अनेरास्ववियुका अध्यक्ष कडरियाले फिर्ता लिए राजीनामा, जेनजी आन्दोलनमा हत्या प्रयास भएको दाबी

काठमाडौँ, २७ भदौ २०८२ – नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अध्यक्ष सुजन कडरियाले आफ्नो राजीनामा फिर्ता लिएका छन्।

उनले ‘जेनजी’ आन्दोलनका क्रममा विद्यार्थीमाथि भएको गोली प्रहार र आफ्नै घरमा हातहतियारसहित भएको आक्रमणका कारण विक्षिप्त अवस्थामा सामाजिक सञ्जालमार्फत राजीनामा दिएको बताएका छन्।

कडरियाले बिहीबार फेसबुकमार्फत स्पष्ट पार्दै भने, “त्यसबेला मलाई जबरजस्ती सामाजिक सञ्जालमा राजीनामा लेख्न बाध्य पारिएको थियो। सायद त्यस्तो पोस्ट नगरेको भए म आज जिउँदो हुने थिइन।” उनले कुनै पनि संगठनबाट औपचारिक रूपमा राजीनामा नदिएको प्रष्ट पारे।

उनले आन्दोलनका क्रममा आफूमाथि शारीरिक हातपात भएको र हत्या प्रयाससमेत भएको दाबी गरेका छन्। देश गम्भीर परिस्थितिमा रहेको उल्लेख गर्दै कडरियाले आपसी दोषारोपणको सट्टा एकताको आवश्यकता रहेको बताए।

“हामीले अहिले एकजुट भएर अगाडि बढ्नुपर्छ। देशको अवस्था जटिल छ, हामीले आपसी मतभेदलाई थाती राखी साझा लक्ष्यका लागि काम गर्नुपर्छ,” उनले भनेकन छन्।





Comments

comments

133078