काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरिएको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्ने गरी कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्।
उनको सपथ आज राति ९ बजे शीतलनिवासमा हुने तय भएको छ। कार्कीको शपथ ग्रहण लगत्तै मन्त्रिपरिषद्को पहिलो बैठक बस्ने छ।
बैठकले प्रतिनिधिसभा विघटनको निर्णय गरी स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी गरेको छ। मन्त्रिपरिषद्को उक्त सिफारिसलाई राष्ट्रपतिले स्वीकृत गर्ने छन्।
जेनजी समूहको प्रस्तावमा कार्कीको नेतृत्वमा नयाँ सरकार गठनका लागि छलफल भएको थियो। छलफलमा जेनजी अभियन्ता सुदन गुरुङ र अधिवक्ता ओम प्रकाश अर्याल सहभागी थिए। संसद् विघटनको विषयमा सुरुमा असहमति भए पनि अन्ततः सहमति जुटेको छ।
यसअघि, जेनजी आन्दोलनको दबाबमा प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ गते राजीनामा दिएका थिए। कार्कीको नेतृत्वमा गठन हुने सरकारले मुलुकको राजनीतिलाई कस्तो दिशा दिन्छ, सबैको ध्यान त्यसतर्फ केन्द्रित छ।