अपडेटः हङकङमा टाइफुन सिग्नल १० जारी, सर्वसाधारणलाई बाहिर ननिस्कन आग्रह
न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २४ सेप्टेम्बर – हङकङको मौसम विभागले आज बिहान २:४० बजे नम्बर १० हुरिकेन सिग्नल जारी गरेको छ। यसको अर्थ ११८ किलोमिटर प्रतिघण्टा वा त्यसभन्दा बढी गतिको हावा चल्ने अपेक्षा गरिएको छ। विभागले सर्वसाधारणलाई बाहिर ननिस्कन र खुला झ्याल तथा ढोकाबाट टाढा रहन आग्रह गरेको छ। सुरक्षित स्थानमा आश्रय लिन र हावाको दिशा परिवर्तन हुन सक्ने कुरामा तयार रहन सुझाव दिइएको छ।
अपडेटः शक्तिशाली आँधी ‘रागासा’ का कारण हङकङका ७०० उडानहरू रद्द
हङकङ, २३ सेप्टेम्बर – हङकङमा मङ्गलबार साँझदेखि कम्तीमा ७०० उडानहरू रद्द हुने भएका छन्। हङकङको फ्ल्याग क्यारियर क्याथे प्यासिफिक एयरवेजले ५०० उडान रद्द गरेको छ भने यसको बजेट एयरलाइन एचके एक्सप्रेसले १०० उडान रद्द गर्नेछ। हङकङ एयरलाइन्सले करिब ९० उडान रद्द गर्ने भएको छ र हङकङस्थित ग्रेटर बे एयरलाइन्सले कम्तीमा २३ उडान कटौती गरेको छ।
मङ्गलबार र बुधबारका लागि सबै किन्डरगार्टन, प्राइमरी र सेकेन्डरी स्कूलका कक्षाहरू रद्द गरिएको छ।
अपडेटः हङकङमा आउँदैछ शक्तिशाली आँधी ‘रागासा’, T8 जारी
हङकङ, २३ सेप्टेम्बर – हङकङको मौसम विभागले सुपर आँधी रागासाको प्रभावका कारण मङ्गलबार दिउँसो २:२० बजे गेल वा स्टर्म सङ्केत नम्बर ८ जारी गरेको छ।
विभागले मङ्गलबार राति वा बुधबार बिहान उच्च चेतावनी सङ्केतहरू जारी गर्न आवश्यक पर्ने सम्भावनाको मूल्याङ्कन गर्ने जनाएको छ।
विभागका वरिष्ठ वैज्ञानिक अधिकारी ली सुक-मिङका अनुसार, आँधीको प्रभावले बुधबार बिहान हङकङका तटीय क्षेत्रमा २ मिटर पानीको सतह बढ्नेछ। सामान्यतया अधिकतम जलस्तर चार्ट डाटमभन्दा ३.५ देखि ४ मिटर पुग्न सक्छ भने तोलो हार्बरमा ४ देखि ५ मिटरसम्म हुन सक्छ।
बुधबार मौसम निरन्तर प्रतिकूल रहनेछ। तटीय र उच्च भूभागमा हुरिकेन स्तरको तीव्र हावाहुरी चल्न सक्नेछ। विभागले बासिन्दाहरूलाई समुन्द्री तटबाट टाढा रहन र जलक्रीडामा भाग नलिन आह्वान गरेको छ।
यसअघि, सोमबार राति ९:४० बजे आँधी सङ्केत नम्बर ३ जारी गरिएको थियो।
अपडेटः हङकङमा आउँदैछ शक्तिशाली आँधी ‘रागासा’, हङकङका सबै स्कूल दुई दिनको लागि बन्द
हङकङ, २२ सेप्टेम्बर २०२५ । सुपर आँधी रागासा नजिकै आउंदै गर्दा हङकङ शिक्षा मन्त्रालयले मङ्गलबार र बुधबार (सेप्टेम्बर २३ र २४) का लागि सबै प्रकारका स्कूलहरू बन्द गर्ने घोषणा गरेको छ। यसमा माध्यमिक, प्राथमिक, विशेष, किन्डरगार्टन तथा बाल हेरचाह केन्द्रहरू र साँझका स्कूलहरू समावेश छन्।
यो निर्णय विद्यार्थीहरूको सुरक्षालाई प्राथमिकता दिँदै तीव्र वर्षा र हावा (समुद्री तथा उचाइमा हुरिकेन तीव्रतासम्म) को जोखिमबाट बचाउन गरिएको हो।
यसैबीच, २०२६ प्राथमिक एक प्रवेशका लागि कागजी आवेदनहरू अस्थायी रूपमा बन्द हुनेछन्। कागजी आवेदनको म्याद सेप्टेम्बर ३० सम्म थपिएको छ। अभिभावकहरूले ‘प्राइमरी वन एडमिसन इलेक्ट्रोनिक प्लेटफर्म’ (epoa.edb.gov.hk) मार्फत सेप्टेम्बर २६ सम्म इलेक्ट्रोनिक आवेदन दिन सक्छन्। थप विवरणका लागि शिक्षा मन्त्रालयको वेबसाइट हेर्नुहोस्।
हङकङमा आउँदैछ शक्तिशाली आँधी ‘रागासा’, टाइफुनले ल्याउँदैछ भयावह स्थिति…
हङकङ, २० सेप्टेम्बर २०२५ । हङकङमा आगामी हप्ता रागासा नामक शक्तिशाली ट्रपिकल साइक्लोन आउँने र यो सुपर टाइफुनमा परिणत हुन सक्ने हङकङ अब्जरभेटरीले चेतावनी दिएको छ।
अब्जरभेटरीका अनुसार यो आँधी लुजोन स्ट्रेटतर्फ बढ्दै आगामी केही दिनमा अत्यन्तै शक्तिशाली हुनेछ। “यो मध्य हप्तामा ग्वाङडोङ तटीय क्षेत्रमा सुपर टाइफुनको रूपमा पुग्ने सम्भावना छ,” अब्जरभेटरीले शनिबार जनाएको छ।
“स्थानीय मौसम मंगलबार र बुधबारदेखि क्रमशः बिग्रँदै जानेछ। बुधबार तीव्र आँधीबेहरी चल्नेछ।”
यसका साथै आँधीले भारी वर्षा र गर्जनसहितको हावाहुरी ल्याउने पूर्वानुमान गरिएको छ। आँधीको प्रभाव २०१७ को हातो र २०१८ को मांगखुट टाइफुन जस्तै हुन सक्ने चेतावनी दिइएको छ।
क्याथे प्यासिफिक, ग्रेटर बे एयरलाइन्स र हङकङ एयरलाइन्स लगायतका विमान कम्पनीहरूले मंगलबारदेखि बिहिबारसम्म उडानहरूमा समस्या आउन सक्ने जनाएका छन् र यात्रुहरूका लागि पुनः बुकिङ शुल्क छुट दिने घोषणा गरेका छन्। – पशन तमू । हङकङ