एचकेनेपाल डट कम –
काठमाडौं, असोज ६, २०८२ – नेपाल सरकारले मन्त्रिपरिषद् विस्तार गर्दै चार नयाँ मन्त्रीहरूलाई सोमबार शपथग्रहण गराएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराए। यससँगै प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् ८ सदस्यीय बनेको छ।
नयाँ नियुक्त मन्त्रीहरूमा महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारी दिइएको छ। पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री र कानून, न्याय तथा संसदीय मामिलामन्त्रीको थप जिम्मेवारी प्रदान गरिएको छ। यस्तै, मदन प्रसाद परियारलाई कृषि तथा पशुपन्छी विकासमन्त्री र जगदीश खरेललाई सञ्चार तथा सूचना प्रविधिमन्त्री बनाइएको छ।
यो नियुक्तिपछि मन्त्रिपरिषद्को वरीयता क्रम यस प्रकार छ। प्रधानमन्त्री सुशीला कार्की पछि दोस्रो वरीयतामा अर्थमन्त्री तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर प्रसाद खनाल छन्। तेस्रोमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ र चौथोमा गृहमन्त्री ओम प्रकाश अर्याल रहेका छन्।
पाँचौँ वरीयतामा तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका अनिलकुमार सिन्हा छन्, जसले उद्योग, भूमि तथा कानून मन्त्रालयको भार पाएका छन्। छैटौँमा शिक्षामन्त्री महावीर पुन, सातौँमा कृषिमन्त्री मदन परियार र आठौँ तथा अन्तिम वरीयतामा सञ्चारमन्त्री जगदीश खरेल छन्।