बडादसैं आजदेखि सुरु, घरघरमा घटस्थापना गरिँदै

काठमाडौं, हिन्दुहरूको महान् पर्व बडादसैं आज (आश्विन शुक्ल प्रतिपदा) बाट प्रारम्भ भएको छ। घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिँदै छ।

पूजा कोठामा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ।

बिहान नित्यकर्मपछि नदीबाट बालुवा वा माटो ल्याई गोबरले लिपेको पूजा कोठामा जौ (यव) रोपेर जमरा राखिन्छ। यो दुर्गाको प्रिय वस्तु हो, जसलाई विजयादशमीमा टीका प्रसादसँगै ग्रहण गरिन्छ। धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईका अनुसार, जमरामा जौबाहेक अन्य अन्न रोप्नु शास्त्रीय नभए पनि कुलपरम्पराले कसैले अन्य अन्न पनि रोप्छन्। जमरालाई आयुर्वेदिक औषधिका रूपमा पनि प्रयोग गरिन्छ।

घटस्थापनाको साइत बिहान ९:१३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार, सूर्योदयकालमा प्रतिपदा भएकाले आज घटस्थापना उपयुक्त छ।

नवरात्रभर महाकाली (शक्ति), महालक्ष्मी (धनधान्य) र महासरस्वती (विद्या) को पूजा गरिन्छ। दुर्गाले राक्षसहरूको वधका लागि लिएका नौ रूप (नवदुर्गा) को पूजा पनि गरिन्छ : शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री।

असोज १६ गते देवी विसर्जनको साइत बिहान ९:२३ बजे छ। विजयादशमीमा टीकाप्रसादका लागि ११:५३ बजे उत्तम साइत छ। कोजाग्रत पूर्णिमासम्म देवीको प्रसाद ग्रहण गरिन्छ।





Comments

comments

133283