न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २४ सेप्टेम्बर – सुपर टाइफुन रागासाको नम्बर ८ को बेला चाई वानस्थित का यिप सडकको ब्रेकवाटरमा ठूला छालले बगाउंदा उद्धार गरिएका आमा र उनको पाँच वर्षीय छोराको अवस्था गम्भीर रहेको जनाइएको छ। उनीहरू अहिले गहन उपचार कक्षमा छन्।
४० वर्षीय बुवा र नौ वर्षीया छोरीसहितको चार जनाको परिवार टाइफुनको छाल हेर्न गएका थिए। आमा र छोरालाई छालले बगाएपछि बुवा उद्धारका लागि समुद्रमा हाम फालेका थिए।
उपप्रमुख फायर अफिसर फोक चुन-मिङका अनुसार नजिकैको डुङ्गा चालकले आमा र छोरालाई उद्धार गरिसकेका थिए भने बुवा समुद्रमा थिए। अस्थिर समुद्री अवस्थाका कारण तटमा ल्याउन कठिन भएकोले फायरफाइटरहरूले डुङ्गामै पुगेर आमालाई कार्डियोपल्मोनरी रिससिटेसन (सीपीआर) दिएका थिए।