एचकेनेपाल डट कम –
काठमाडौँ, १९ असोज २०८२ । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण देशभर बाढी, पहिरो र अन्य दुर्घटनामा परेर ४९ जनाले ज्यान गुमाएका छन्।
सशस्त्र प्रहरीका अनुसार इलाममा सबैभन्दा धेरै ३७ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता छन्।
विपद्का घटनामा रौतहटमा ३, उदयपुरमा २, खोटाङमा १ र पाँचथरमा ६ जनाको मृत्यु भएको छ। यस्तै, रसुवामा ४, बारामा १ र काठमाडौँमा १ गरी ७ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले दिएको जानकारीअनुसार विपद्मा ७ जना घाइते भएका छन्। मृत्यु हुनेमध्ये अधिकांश बाढी र पहिरोमा परेका छन् भने केहीको चट्याङ र सवारी दुर्घटनामा ज्यान गएको हो।
विपद् प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ। बेपत्ता व्यक्तिको खोजी कार्य पनि जारी छ।