नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। अमेरिकाको कोलोराडोमा आगामी अक्टोबर १० देखि आयोजना हुन लागेको राहदानी सेवा शिविरको सम्पूर्ण तयारी पूरा भएको छ।
हेल्पिङ ह्यान्ड्स हेल्थ एजुकेसनको संयोजन र नेपाली घरको अगुवाइमा यही अक्टोबर १०, ११ र १२ तारिखमा आयोजना हुने उक्त शिविर नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा सञ्चालन हुनेछ।
सेवा शिविरमा सेवा लिन चाहने सम्पूर्ण महानुभावहरूका लागि वासिङ्टन डी.सी.स्थित नेपाली दूतावासले सेप्टेम्बर २५ मा आवेदन फारम भर्न एक सूचना जारी गरेको थियो। सोहीअनुसार हालसम्म ४०० भन्दा बढी सेवाग्राहीले फारम भरेका छन् भने १०० भन्दा बढीले फारम भर्न नपाएको गुनासो गरेका छन्। नेपाली घरका वरिष्ठ उपाध्यक्ष गंगा चौलागाईंले यो कुरा बताएका छन्।
यसले सेवा शिविरमा सेवा लिन चाहनेको संख्या उच्च रहेको देखाएको छ। यस्तो परिस्थितिलाई मध्यनजर गर्दै सेवा शिविरलाई व्यवस्थित रूपमा सञ्चालन गर्न र सेवाग्राहीलाई सहयोग पुर्याउन १०० भन्दा बढी स्वयंसेवकहरूले स्वस्फूर्त रूपमा नाम दर्ता गरेको चौलागाईंले बताए।
सेवा शिविरमा राहदानी नवीकरण, एनआरएन कार्डको आवेदन सङ्कलन, र ट्राभल डकुमेन्टको सेवा उपलब्ध हुनेछ। ३५५ जनाले राहदानीका लागि फारम भरेका छन् भने ३७ जनाले गैरआवासीय नेपाली कार्डका लागि आवेदन दिएका छन्। यसैगरी, ४ जनाले ट्राभल डकुमेन्ट, ४ जनाले वारिसनामाका लागि र अन्य ४ जनाले विविध सेवाका लागि फारम भरेका नेपाली घरका अध्यक्ष बसन्त लम्सालले बताए।
क्याम्पमा कोलोराडोसहित एरिजोना, टेक्सास, नेब्रास्का, मिनेसोटा, युटा, वायोमिङ र ओक्लाहोमालगायत नजिकका छिमेकी राज्यहरूबाट पनि सेवाग्राहीहरू आउने जानकारी प्राप्त भएको छ। तीन दिनको सेवा शिविरमा सबै सेवाग्राहीको काम नसकिए दूतावासले समय थप गरेर भए पनि सेवाग्राहीको काम सक्नुपर्ने आवाज उठ्न थालेको नेपाली घरका पदाधिकारीहरूले बताएका छन्।
कन्सुलर सेवा प्रदान गर्न नेपाली दूतावासका कर्मचारीहरू बिहीबार बेलुका कोलोराडो आइपुग्ने कार्यक्रम छ। सेवा प्रवाहलाई सहज बनाउन एनआरएन कार्ड र पासपोर्टसम्बन्धी कामका लागि छुट्टाछुट्टै टेबलको व्यवस्था गरिनेछ। सेवा शिविरको ठेगाना 4001 W 76th Avenue, CO, 80030 रहेको छ र सेवा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म उपलब्ध हुनेछ।