तनहुँ । यहाँको म्याग्दे गाउँपालिकाका महिलाहरू सयपत्री फूलखेतीमा लागेका छन् । गाउँपालिकाले ७५ प्रतिशत अनुदान प्रोत्साहन गरेपछि म्याग्दे गाउँपालिका–४ का महिलाहरू फूलखेतीमा आकर्षित भएका हुन्।
यहाँका महिलाहरू छिम्केश्वारास्थित चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक समूहमा आबद्ध भएर सामूहिक फूलखेतीमा लागेका हुन् । तरकारी तथा अन्य फलफूलखेती गरिरहेका महिलाहरू पहिलो पटक सयपत्री फूलखेतीमा लागेको समूहका अध्यक्ष जितमाया रानाले जानकारी दिइन्।
अध्यक्ष रानाले भनिन्, “पहिला पहिला अरुले सामूहिक खेती गरिरहेको बारे फेसबुकमा हेर्थ्यौँ । हामीलाई पनि सयपत्री फूलखेती गर्ने इच्छा थियो । गाउँपालिकामा यसबारेमा जानकारी लियौँ, पालिकाका कृषि प्राविधिकबाट सल्लाह पाएपछि पहिलो पटक यसतर्फ लागेका हौँ।”
समूहमा रहेका २३ जना महिलाहरूले छ रोपनी जग्गा भाडामा लिएर फूलखेती गरिरहेका छन् । यस वर्षको तिहारका लागि फूल उत्पादन भइसकेको अध्यक्ष रानाले बताइन् । उनका अनुसार सयपत्री फूल प्रतिकिलो रु तीन सय र प्रतिमाला रु एक सय ५० मा बिक्री हुने गरेको छ । घरायसीमा काममा व्यस्त रहने महिलाहरूलाई फूलखेतीमा लागेपछि आत्मनिर्भर बन्न थालेका छन्।
गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पालिकाले विगत तीन वर्षदेखि ७५ प्रतिशत अनुदान सहयोगमा सयपत्री फूलखेती प्रोत्साहन गरिरहेको बताए । गत वर्ष वडा नं ६ र यस वर्ष वडा नं ४ का महिलाहरूलाई सहयोग गरिएको उनले बताए । “स्थानीय महिलालाई उद्यमशील बनाउनका लागि पालिकाले सहयोग गरिरहेको छ। उहाँहरुले उत्पादन गरेका फूल गाउँपालिकाले गर्ने कार्यक्रममा प्रयोग गर्ने र तिहारलगायत चाडमा बाहिरको भन्दा स्थानीयस्तरमै उत्पादित फूललाई प्रयोग गर्न सहजीकरण गर्ने हाम्रो नीति छ”, अध्यक्ष श्रेष्ठले भने। रासस