नेपाल संम्बत् ११४६ को अवसरमा कोलोराडोमा सिस्टर्स ग्रुप दिदीबहिनी समूह र हिरण्य भोजपुरे पुरस्कृत हुने

नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। नेपाल संम्वत् ११४६ को अवसरमा नेवाः खलः कोलोराडोले सिस्टर्स ग्रुप दिदीबहिनी समूह कोलोराडो र वरिष्ठ गायक तथा संगीतकार हिरण्य भोजपुरेलाई पुरस्कृत गर्ने भएको छ।

संस्थाले नेपाल संम्बत् ११४६ को अवसर पारेर कोलोराडो नेवाः खलः नेपाल संम्वत् प्रवर्तक शंखधर साख्वा नेपाल संम्वत् ११४५ सिरपा (पुरस्कार) सिस्टर्स ग्रुप दिदीबहिनी समूह कोलोराडोलाई र कोलोराडो नेवाः खलः शताब्दी पुरुष सत्यमोहन नेपाल संम्वत् ११४५ सिरपा (पुरस्कार) हिरण्य भोजपुरेलाई प्रदान गर्न लागेको हो।

प्रवासमा रहेका महिला दिदीबहिनीहरूलाई एक्लो भएको महसुस हुन नदिन, नेपाली भाषा संस्कृतिको संरक्षण तथा सम्बर्धन गर्दै पुस्तान्तरणको वातावरण सृजना गर्न र दिदीबहिनीहरूबीच सुखदुख साटासाट तथा सहयोग आदानप्रदान गर्ने उद्देश्य राखी २०१७ देखि संगठित भई काम गर्दै आएको संस्थाले नेपाली भाषी समुदायमा सकारात्मक प्रभाव पार्न सकेको भन्दै दिदीबहिनी समूहलाई कोलोराडो नेवाः खलः नेपाल संम्वत् प्रवर्तक शंखधर साख्वा नेपाल संम्वत् ११४५ सिरपाद्वारा पुरस्कृत गर्न लगिएको हो।

त्यसैगरी हिरण्य भोजपुरेलाई नेपाली समाज र नेपाल राष्ट्रको लागि नेपाली गीत, संगीत, कला र साहित्यका माध्यमबाट पुर्याएको योगदानको उच्च कदर गर्दै कोलोराडो नेवाः खलः शताब्दी पुरुष सत्यमोहन नेपाल संम्वत् ११४५ सिरपा (पुरस्कार)द्वारा पुरस्कृत गर्न लागिएको नेवाः खलः कोलोराडोले अध्यक्ष भुषणलाल श्रेष्ठले बताएका छन्।

आगामी अक्टोबर २५ तारिख शनिबार नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा आयोजना गर्न लागिएको न्हूदँया भिन्तुना कार्यक्रममा उक्त पुरस्कार वितरण गर्ने बताइएको छ। संस्थाले यसअघि नै कोलोराडो नेवाः खलः शताब्दी पुरुष सत्यमोहन सिरपा (पुरस्कार) अमेरिकाको कोलोराडोमा भाषा, साहित्य, कला, संगीत र संस्कृतिको जगेर्ना र विकासमा योगदान पुर्याएका व्यक्तित्वलाई र कोलोराडो नेवाः खलः नेपाल संम्वत् प्रवर्तक शंखधर साख्वा सिरपा (पुरस्कार) अमेरिकाको कोलोराडोकाका स्थानीय नेपाली संघ, संस्थामध्ये उत्कृष्ट एकलाई खलःको तर्फबाट यो सम्मान गरिने घोषणा गरिसकेको थियो।

शंखधर साख्वा सिरपा नेपालस्थित राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठान र शताब्दी पुरुष सत्यमोहन सिरपा लोक साहित्य परिषद्सँग आवद्ध भई प्रदान गर्न लागिएको हो। नेपाली भाषी समुदायलाई सकारात्मक परिवर्तन गर्न अमूल्य योगदान पुर्याएको संस्था र व्यक्तिलाई पुरस्कार प्रदान गरी सम्मान गर्ने कार्यक्रमलाई सफलताका साथ सम्पन्न पार्न सबैबाट साथ र सहयोग अपेक्षा गरिएको अध्यक्ष श्रेष्ठले बताएका छन्।

संस्थाले नेपाल संम्वत् ११४६ भिन्तुना कार्यक्रम तथा साधारण सभा एकैदिन गर्ने बताएको छ। भिन्तुना कार्यक्रम व्यवस्थापनको लागि उपाध्यक्ष मनोज काजी तुलाधर, रोशन महर्जन, रमिता तुलाधर, सुरेश श्रेष्ठ समूहलाई जिम्मा दिएको छ। त्यस्तै साधारण सभा सञ्चालन तथा व्यवस्थापनको लागि महासचिव सञ्जय शाक्य तथा सचिव नारायण प्रसाद दुवाललाई तोकेको छ। यसैगरी भिन्तुना कार्यक्रममा इन्द्र जात्राका सहभागी कुमारी, गणेश, भैरव, लाखे, झ्यालिंचा, सांस्कृतिक कलाकार लगायत सम्पूर्ण स्वयंसेवकहरू तथा Platinum, Gold, Silver र Bronze Sponsor हरूलाई सम्मान गर्ने बताइएको छ।





Comments

comments

133710